hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

तनहुँ जलविद्युत् आयोजना - बाँध निर्माण गर्न चार कम्पनीको बोलपत्र पेश


प्रकाशित समय: आइतवार, ०७ : ५३ बजे असार २२ गते



तनहुँ जलविद्युत् आयोजना - बाँध निर्माण गर्न चार कम्पनीको बोलपत्र पेश

 काठमाडौँ -  इटालियन कम्पनी सिएमसीले छाडेर हिँडेको तनहँु जलविद्युत् आयोजनाको बाँधलगायतका संरचना निर्माणका लागि विभिन्न चार कम्पनीले बोलपत्र पेश गरेका छन् ।

 

कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँध लगायतका संरचना निर्माणका एक नेपाली कम्पनीको संयुक्त उपक्रमसहित चार कम्पनीले बोलपत्र पेश गरेका हुन् । आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आज ती कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् ।

 

दातृ निकाय एशियाली विकास बंैकको खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्सट्रक्शन, नेपाल जेभी छन् ।

 

कम्पनीहरूले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रूपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभयो । प्राविधिक बोलपत्रको मूल्याङ्कन आगामी भदौको दोस्रो साताभित्रमा सम्पन्न गरी सहमतिका लागि एशियाली विकास बैंकमा पठाइने र त्यहाँबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोलिने उहाँले जानकारी दिनुभयो । आगामी कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र आगामी पुसको दोस्रो साताभित्रै आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य रहेको छ ।

 

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । शुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन गत २६ जेठसम्म तोकिएकामा सम्बन्धित कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो । छनोट हुने निर्माण व्यवसायी कम्पनीले आयोजनाको कूल १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ ।

 

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिरहेको छ । सो कम्पनीले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइनलगायतका काम गरिरहेको छ ।

 

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।

 

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ । दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौताहरू तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।