सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

गोदावरीले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान


प्रकाशित समय: मगलवार, ०७ : ०४ बजे असार २४ गते



गोदावरीले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

 ललितपुर-  झरुवारासीकी १०० वर्षीया नर्कनकुमारी दाहाल पहिलोपटक सार्वजनिकस्थानमा सम्मानित हुन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । गोदावरी नगरपालिका गठन भएपछि बूढापाकाले यस्तो सुविधा पनि पाउँदारहेछन् भन्ने बल्ल थाहा पाउनु भयो  । आफूलाई लगाइदिएको दोसल्ला र सम्मानस्वरुप दिएको नगद रु एक हजार नियाल्दैँ ज्येष्ठ नागरिक दाहाल मख्ख देखिनुहुन्थ्यो ।

 

गोदावरी नगरपालिकाले सोमबार प्रत्येक वडामा रहेका ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रममा दाहालजस्तै अरु धेरै आमाबुबाको मन हर्षित देखिन्थे । उक्त अवसरमा सहभागी दाहालजस्तै विभिन्न उमेर समूहका ५५५ ज्येष्ठ नागरिक महिला र पुरुषलाई सम्मान गरिएको हो ।

 

सम्मानित उहाँहरू नगरपालिकाले सबै वडाका ज्येष्ठ नागरिक एकै स्थानमा भेला गरेर सम्मान गरेको कार्यक्रममा एक आपसलाई कहाँबाट आउनुभयो भनेर खुशी साटासाट गरेको दृष्यले उपस्थित सबैलाई खुशी तुल्याएको थियो । ८६ वर्षीय दामोदर उपाध्यायले नगरपालिकामा पहिलोपटक सबै वडाका ज्येष्ठ नागरिकलाई एकैसाथ सम्मान गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । “बूढेसकालमा नगरपालिकाले नसोचेको सम्मान दियो”, उहाँले भन्नुभयो, “हामी बूढापाकाको नगरपालिकाले सम्मान गर्नु भनेको हिन्दू सनातन धर्मको सम्मान गर्दैअघि बढ्नु हो ।”

 

उहाँहरूलाई प्रत्येक वडाको नेतृत्वमा सवारी साधनको सुविधासहित सम्मानका साथ नगरपालिका परिसारमा उपस्थित गराइएको थियो । गोदावरी वडा नं– ३ का ८४ वर्षीय पण्डित शिवप्रसाद आचार्यले नगरपालिकाले ज्येष्ठ नागरिकलाई गरेको सो सम्मान राष्ट्रको लागि ठूलो योगदान हुने विचार व्यक्त गर्नुभयो ।

 

ज्येष्ठ नागरिकको सम्मानले समाजको गौरवमात्र बढाएको छैन सामाजिक संस्कारलाई पनि पुस्तान्तरण गरेको छ ।

 

नगरपालिकाको तथ्याङ्क अनुसार गोदावरीभित्रका सबै वडामा ८० वर्ष माथिका कूल ८२१ ज्येष्ठ नागरिक रहेका छन् । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले ८० वर्ष माथिका ज्येष्ठ नागरिक भगवान सरह पवित्र हुने भएकाले उहाँहरूको सम्मान गरेको बताउनुभयो । “ज्येष्ठ नागरिक समाजका एक खुल्ला पुस्तक हुन”, महर्जनले भन्नुभयो, “बूढाआमाबुबामा भएको हरेक किसिमको रोग र पीडा भुलाउन सबै वडाका ज्येष्ठ नागरिक एक स्थानमा बोलाएर अपनत्वको भावना जगाउँदै सम्मान दिएका हाँै ।”

 

नगरपालिका उपप्रमुख मुना अधिकारीले स्थानीय तहले सम्मान गरेका आमाबुबालाई छोराछोरीले हेला गर्ने आँट नगरुन् भनेर चेतना फैलाउन सम्मान कार्यक्रम गरिएको बताउनुभयो । “८० वर्ष माथिका आमाबुबा भनेका गया र काशी तीर्थ सरह पवित्र हुनुहुन्छ”, अधिकारीले भन्नुभयो, “बूढेसकालमा उहाँहरूप्रति हुने बाल्यकालको व्यवहारमा थप ऊर्जा भर्न नगरपालिकामार्फत सच्चा भगवान्को आशिर्वाद प्राप्तिका लागि परेका हाँै ।”