सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

हावा र ठट्टा गरेर ओली सरकारले दुई वर्ष बितायो-कांग्रेस नेता भिष्मराज आङदाम्बे


प्रकाशित समय: सोमवार, ०९ : १८ बजे श्रावण ६ गते



हावा र ठट्टा गरेर ओली सरकारले दुई वर्ष बितायो-कांग्रेस नेता भिष्मराज आङदाम्बे

ललितपुर,नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बेले केपी ओली नेतृत्वको नेकपा सरकारले हावा कुरा गरेर दुई वर्ष बिताएको बताउनुभएको छ।

 

जननायक बीपी कोइरालाको ३७ औं पुण्य स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस ललितपुर द्वारा आयोजित बिचार गोष्ठि कार्यक्रममा बोल्दै नेता आङदाम्बेले दुईतिहाइको बहुमतप्राप्त सरकारले काम गर्नेभन्दा पनि राजनैतिक ठट्टा गरेर दुई बर्षे कार्यकाल पुरा गरेको आरोप लगाउनुभयो।

 

उहाँले ०६२/६३ को आन्दोलनबाट प्राप्त भएको उपलब्धि माथि नै कम्युनिस्ट सरकारले आक्रमण र तहसनहस बनाउन थालेपछि गणतन्त्र र संघीयता माथि बहस र छलफल गर्नुपर्ने अवस्था आएको बताउनुभयो। बहुमत प्राप्त सरकार आएपछि मुलुकले स्थिरता पाउँछ भन्ने सोचेको भएपनि ठीक त्यसको उल्टो भएको बताउनुहुदै नेता आङदाम्बेले प्रादेशिक सरकार संघीय सरकारको नियन्त्रण भन्दा बाहिर रहेको बताउनुभयो।

 

उहाँले वि पि जस्तो स्पष्ट दृष्टिकोण बोकेर हिँड्ने नेता नहुदा देश यो अवस्थामा आइपुगेको बताउनुभयो।

 

उहाँले भन्नुभयो- "अहिलेको अवस्थामा कांग्रेस वि पि को जस्तै दिव्य सोचबाट अघि बढ्ने प्रयत्न गर्न सकेन भने बीपीलाई सम्झनुको अर्थ रहँदैन ।" वि पि काँग्रेसको मात्रै नेता नभएर सबैको मन जितेका नेता भएकाले सहि सोच र चिन्तनले मात्रै बिपिको अनुयायी हुन सक्ने बताउनुभयो।

 

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कर्म व्यञ्जनकार, जिल्ला सदस्य उर्मिला केसीले बीपी योगदानका बारेमा चर्चा गर्नुभएको थियो। कार्यवाहक सभापति प्रकाश नन्दन जोशीको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव भीमसेन घिमिरेले गर्नुभएको थियो।

 

कार्यक्रममा राष्ट्रियसभा सदस्य धना खतिवडा, प्रदेशसभा सदस्य विजय केसी, पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, पूर्वसांसद चन्द्र महर्जन, पूर्वसांसद रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष विर बहादुर लोप्चन,नेपाली कांग्रेसबाट निर्वाचित विभिन्न वडाका वडा अध्यक्ष, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरू बाक्लो उपस्थिति रहेको थियो।