सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ४ भदौ २०७६ / Wednesday, 21 August 2019

क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा अध्यक्ष गुरुङको संयोजकत्वमा सहयोग समिति गठन


प्रकाशित समय: बुधवार, ०८ : २९ बजे श्रावण ८ गते



क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा अध्यक्ष गुरुङको संयोजकत्वमा सहयोग समिति गठन

 चितवन-  चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ ।

 

मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो । समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् ।

 

गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताउनुभयो ।

 

सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो ।

 

समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यामबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।

 

यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

यसैबीच रङ्शालाको निर्माणकार्य मङ्गलबारबाट पुनः शुरु भएको छ । सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयवासीले जेठ १५ गते रङ्गशालाको केही तारबार भत्काएपछि निर्माणकार्य स्थगित भएको थियो । 

 

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण हुनलागेको गौतमबबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि हालसम्म २३ लाख सहयोग सङ्कलन भएको छ ।