सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १९ मंसिर २०७६ / Thursday, 05 December 2019

एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने


प्रकाशित समय: बुधवार, ०२ : १० बजे श्रावण ८ गते



एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ -  थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् ।

 

यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ ।

 

नेपालमा नै सम्पन्न भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ ।

 

त्यसैगरी चीनको होहोट सिटी इन्नटर मङ्गोलियामा हुने ५३औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशिप–२०१९ मा नेपालबाट नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनशिपमा नेपालबाट बडी बिल्डिङमा तीन, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा चार र पुरुष एथ्लेटिक्स फिजिकमा दुई गरी नौ खेलाडी सहभागी हुने सङ्घले जनाएको छ ।

 

त्यस्तै नेपालमा आयोजना भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशिपमा पदक विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मान गर्ने घोषणा गर्नुभएको छ । आगामी मङ्गलबार सो प्रतियोगितामा स्वर्ण पदक विजेतालाई ५० हजार, रजत पदक विजेतालाई ३० हजार र कास्य पदक विजेतालाई २० हजार प्रदान गरिने छ ।

 

च्याम्पियनशिपमा नेपालले तीन स्वर्ण, सात रजत र छ कास्य पदक जितेको थियो । प्रतियोगितामा टोली च्याम्पियन अफगानिस्तान भएको थियो भने नेपाल दोस्रो बनेको थियो ।