सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ५ भदौ २०७६ / Thursday, 22 August 2019

हिलो र धुलोमुक्त बन्दै ललितपुर महानगर, ब्रुमर र पानी ट्यांङ्कर सञ्चालनमा


प्रकाशित समय: शुक्रवार, ०२ : ०२ बजे श्रावण २४ गते



हिलो र धुलोमुक्त बन्दै ललितपुर महानगर, ब्रुमर र पानी ट्यांङ्कर सञ्चालनमा

ललितपुर,ललितपुर महानगरपालिकाले खरिद गरेको दुई वटा ब्रुमर र दुई वटा पानी ट्याङ्कर आज शुक्रवारबाट सञ्चालनमा आएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियान अनुरुप महानगरले ब्रुमर र पानी ट्याँङ्कर खरिद गरेको हो । टेण्डर प्रक्रियाद्धारा महानगरले खरिद गरेको ब्रुमर र पानी ट्याङ्कर यही साउन १० गते महानगरपालिकामा आइपुगेको थियो । ललितपुर महानगरपालिकाले टेन्डर प्रक्रियाद्वारा २ वटा ब्रुमर खरिद गरेको हो । इटालीमा बनेको युरो ४ मापदण्डका ब्रुमर खरिदका लागि महानगरले २०७५ मंसिर २७ गते वोलपत्र आव्हान गरेको थियो । सोही अनुसार २०७५ पौष २९ खोलिएको टेण्डरअनुसार जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो। उसले भ्याटसहित ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँमा ब्रुमर उपलब्ध गराएको हो । डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ । ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र बीचमा १ गरी ४ ओटा ब्रस र पछाडि एउटा भ्याकुम क्लिनर रहेको छ । यसको ११० किलोवाट इन्जिन क्षमता छ ।ब्रुमर सञ्चालनका लागि जेनटेक प्राइभेट लिमिटेड कम्पनीले महानगरका ५ जना प्राविधिकहरुलाई सात दिनको तालिम समेत दिइसकेको छ । त्यसैगरी २ वटा पानी ट्याङकर खरिदका लागि महानगरले २०७५ माघ २१ गते वोलपत्र आव्हान गरेको थियो । सोही अनुसार २०७५ फागुन २२ गते वोलपत्र खुला हुँदा सिप्रदी ट्रेडिङ प्रा.लि छनौट भएको थियो । सोही अनुसार सिप्रदीले भ्याट सहित बइसठ्ठी लाख नब्बे हजार रुपैयाँमा दुई वटा पानी ट्याँङ्कर उपलब्ध गराएको हो । इन्डियामा बनेको टाटा कम्पनीको एलपीटी १०१० मोडेलको पानी ट्याङकरको क्षमता ९३.२ किलोवाट रहेको छ । ६ हजार लिटर पानी भण्डारण गर्न सक्ने क्षमता भएका दुई वटा ट्याङकरका लागि कम्पनीले एक वर्षको वारेण्टी प्रदान गरेको छ ।