सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २९ मंसिर २०७६ / Sunday, 15 December 2019

विकास र समृद्धिका लागि युवा अपरिहार्य : युवा तथा खेलकुदमन्त्री


प्रकाशित समय: शनिवार, ०८ : ४० बजे श्रावण २५ गते



विकास र समृद्धिका लागि युवा अपरिहार्य : युवा तथा खेलकुदमन्त्री

काठमाडौ : युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले देशले लिएको सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न युवा परिचालन अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन)ले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले युवा परिचालनमा जोड दिएका हुन् ।

 

‘अबको आवश्यक्ता विकास र समृद्धि हो । सरकार पनि यहि भावनामा केन्द्रीत छ,” उनले भने, “साझा उद्देश्य, भावना र सामुहिक अभियान लिएर हिँडे मात्रै राष्ट्र निर्माणको अपरिहार्य विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।” मन्त्री विश्वकर्माले युवाहरुलाई स्वरोजगार बनाउनु आजको चुनौती रहेको र सरकारले त्यसतर्फ पनि काम गरिरहेको जानकारी दिए ।

 

कार्यक्रममा कांग्रेसका युवा नेता प्रदिप पौडेलले खाडी मुलुकलगायतमा देशको दक्ष जनशक्ति खेर गइरहेको बताउँदै देश निर्माणमा भने युवाहरुको उल्लेख्य सहभागिता गराउन असफल भएकोमा खेद व्यक्त गरेका थिए । हालको राजनीतिले युवालाई आकर्षित गर्ननसकेकाले युवाहरुले नै आफ्नै प्रत्यक्ष सहभागितामा युवामैत्री राजनितिक वातावरण बनाउनु पर्नेमा जोड दिए । ‘अहिले नेपालमा युवाहरुको सँख्या धेरै छ । यो जनशक्तिको उचित सदुपयोग गर्न नसके समृद्धिको सपना सपनामै सिमित हुनेछ,” नेता पौडेलले भने ।

 

त्यस्तै, उनले राज्यले शिक्षक भन्दा सिपाहीमाथी बढी लगानी गरिरहेको बताउँदै अनुत्पादक क्षेत्रमा लगानी घटाएर उत्पादक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । कार्यक्रममा नेकपा सांसद दिपकप्रकाश भट्टले पनि राष्ट्र निर्माणमा युवाहरुको भुमिका महत्वपूर्ण हुनेमा जोड दिए । कार्यक्रममा बोल्दै आयोनका अध्यक्ष जगदिश ऐरले युवाहरुलाई उपेक्षा गरेर देश विकासको बाटोमा जान नसक्ने भन्दै युवाहरुलाई जिम्मेवारीपूर्ण भूमिका दिनुपर्ने बताए ।

 

त्यस्तै, कार्यक्रममा युवाहरुलाई रोजगारीको ग्यारेन्टी देखि शैक्षिक बेरोजगारको अन्त्य लगायतका माग राख्दै ११ बुँदे युवा घोषणा पत्र पनि जारी गरिएको छ । युवाहरुको भेलाले पारित गरेका मागलाई अध्यक्ष ऐरले युवा घोषणापत्रका रुपमा जारी गरेका थिए । सो घोषणापत्र युवा परिषद्मार्फत सरकारलाई बुझाइएको छ ।

 

घोषणापत्रमा युवासँग सम्बन्धित नीति नियमलाई प्रभावकारी बनाइनुपर्ने, सबैका लागि गुणस्तरीय र सिपमूलक शिक्षा दिइनु पर्ने, योजना तर्जुमा प्रक्रियाबाटै युवाको सहभागिता सुनिश्चित गरिनु पर्ने , १८ देखि २९ वर्षसम्मका व्यक्तिलाई मात्र युवाका रुपमा परिभाषित गरिनु पर्ने लगायतका माग छन् ।

 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोनले सप्ताहव्यापी कार्यक्रम गरिरहेको र १२ अगस्टमा सातवटै प्रदेशमा कार्यक्रम गर्न लागिएको अध्यक्ष ऐरले जानकारी दिए । कार्यक्रममा मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललगायत विभिन्न युवासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थिए ।