सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २३ मंसिर २०७६ / Monday, 09 December 2019

मापदण्ड अनुरुप ढुङ्गाखानी सञ्चालनमा ल्याईने “केन्द्रको प्रतिवेदन त्रुटीपूर्ण”


प्रकाशित समय: बुधवार, ०६ : ०७ बजे श्रावण २९ गते



मापदण्ड अनुरुप ढुङ्गाखानी सञ्चालनमा ल्याईने “केन्द्रको प्रतिवेदन त्रुटीपूर्ण”

ललितपुर, गोदावरी नगरपालिकाको लेले टिकाभैरबमा सञ्चालित रहेका ढुङ्गाखानीहरुको विषयमा राष्ट्रिय सतर्कता केन्द्रको छानविन टोलीले तयार बनाएको प्रतिवेदन–२०७६ त्रुटी देखिएको जनाइएको छ ।

 

सोमबार केन्द्रका सचिव माधव बेल्वासेको अध्यक्षतामा सरोकार निकायहरुविच बसेको बैठकका अनुसार सो क्षेत्रमा सञ्चालित ढुङ्गाखानीको समस्या समाधानका लागि आगामी भदौ १५ गतेभित्र अर्को प्रतिवेदन तयार गरि पेश गर्ने निर्णय गरेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

 

प्रतिवेदन तयार पार्नका निमित केन्द्रका उपसचिव इन्द्रदेव पाण्डेको संयोजकत्वमा ७ सदस्यीय टोलीको समिति गठन गरिएको नगरप्रमुख महर्जनले बताउनुभयो ।

 

समितिको सदस्यहरुमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी, डिभिजन वन कार्यालय ललितपुरका सहायक वन अधिकृत प्रेमा थापा, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत रामचन्द्र आले, नापी कार्यालय ललितपुरका नापी अधिकृत भरतचन्द्र अर्याल, जिल्ला समन्वय समिति ललितपुरका समन्वय अधिकारी दुर्गादेवी देवकोटा र खानी विभागका प्रतिनिधि रहेका छन् ।

 

सो समितिले भदौ १५ भित्र ढुङ्गाखानी सम्बन्धी समस्याको समाधानका लागि सुझाव सहितको प्रतिवेदन तयार गरिने भएको छ । नगरप्रमुख महर्जनका अनुसार लेले, टिकाभैरब, नल्लु क्षेत्रमा मापदण्ड अनुरुप सञ्चालित रहेका ढुङ्गाखानीहरुलाई आगामी ०७७ साल पुषसम्म देवीचौरमा स्थान्तरण गरिने र मापदण्ड विपरित रहेका खानीहरुलाई बन्द गरिने भएको छ ।

 

साथै ढुङ्गाखानीको विषयमा आएका विभिन्न नकारात्मक प्रकारका समाचारहरु तथ्यहीन रहेको उहाँको भनाई रहेको छ ।

 

सो विषयमा मिति २०७६/४/२३ गतेको कान्तिपुर दैनिकमा प्रकाशित “वन सखाप पारेर ढुङ्गाखानी” सञ्चालन शीर्षकप्रति गोदावरी नगरपालिका कार्यपालिकाको बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

 

सो शीर्षकमा प्रकाशित समाचार भ्रामक र चरित्र हत्या गर्ने खालको रहेको जनाईएको छ । सो विषयमा नगरपालिकाले प्रवक्ता मिलन सिलवालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति नै निकालेको छ ।