सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २३ मंसिर २०७६ / Monday, 09 December 2019

श्रमिकलाई अन्याय हुन दिदैनौ- सिन्धु कांग्रेस सभापति लामा


प्रकाशित समय: आइतवार, ०२ : १० बजे भदौ १ गते



श्रमिकलाई अन्याय हुन दिदैनौ- सिन्धु कांग्रेस सभापति लामा

 मेलम्ची- नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले श्रमिकलाई अन्याय हुन नदिने बताउनु भएको छ । नेपालको श्रमिक आन्दोलनले नै प्रजातन्त्रको विजारोपन गरेको उल्लेख गर्नु हुदै नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनै पर्ने विचार राख्नु भयो । नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोक जिल्ला परिषद र युवा/महिला अधिवेशनलाई मेलम्चीमा सम्बोधन गर्नु हुँदै लामाले यस्तो विचार राख्नु भएको हो ।

 

उहाँले भन्नु भयो- " पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरु भनेकै संगठनको मेरुदण्ड हो , त्यसमा पनि नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन र सामाजिक न्यायको यात्रामा अमुल्य योगदान ट्रेड युनियन कांग्रेसको छ । यि सबै योगदान र पार्टी भित्र सबै भन्दा व्यवस्थित रुपले विधान अनुरुप चल्ने संस्था भएकै कारण नीति निर्माण तहमा श्रमिक प्रतिनिधित्व र पार्टीको हरेक संरचनामा अन्य समुहहरुको जस्तै श्रमिक क्लष्टरको पनि सुनिश्चित गर्नु पर्छ भन्ने ट्रेड युनियन कांग्रेसको मागलाई जस्ताको त्यस्तै सायद सिन्धुपाल्चोक जिल्ला पार्टीले मात्र होला, केन्द्रीय विधान संशोधन मस्यौदा समितिलाई सुझावको रुपमा पेश गरेको र अझै माग सम्बोधन नभएकोले पुरा नभए सम्म तपाईहरुको साथमै हुनेछौ ।"

 

यसैगरी वर्तमान सरकारको भ्रष्टचार, महँगि, असुरक्षा निरंकुशशैलीका कारण देश दुर्घटनामा जाने खतरा रहेको अवस्थामा पार्टीमा विभाजित होइन एक ढिक्का भएर काम गर्न नेता तथा कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।

 

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले नेपालको हरेक राजनीतिक आन्दोलनमा श्रमिकहरुको योगदान रहे पनि स्वार्थ सिद्ध भएपछी श्रमिकलाई सबैले वेवास्ता गरेको बताउनु भयो । वर्तमान सरकार दुई तिहाईको दम्भका कारण जथाभावी विधेयक ल्याएर सबै संयन्त्रलाई नियन्त्रण गरि निरंकुश लाद्न खोजेको आरोप लगाउनु हुदै लोकतन्त्र संस्थागत नभए देश नै नरहने भएकोले बलियो प्रतिपक्षको भुमिका निर्वाह गर्न कांग्रेसलाई आग्रह गर्नु भयो ।

 

कांग्रेस सिन्धुपाल्चोक क्षेत्र-२ का सभापति आइतामान तामाङले अहिलेको बजार भाउ र महङीको अनुपातमा न्युनतम पारिश्रमिक कम भएकोले दोब्बर हुनु पर्ने विचार राख्नु भयो । ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष मोहन बहादुर बस्नेतले निजि र अनौपचारिक क्षेत्रका श्रमिककालागी ट्रेड युनियन कांग्रेसको दबाबमा कांग्रेसले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऎन के.पि. सरकार आफैले ल्याए जस्तै गरि प्रचार गरेको आरोप लगाउनु भयो ।

 

केन्द्रीय सदस्य बलदेव तामाङले बेरोजगार युवाहरुलाई स्वदेशमै मर्यादित रोजगारीको अवसर सृजना गरि श्रमिकहरुको जिवनस्तर माथी उठाउन सके मात्र देशको समृद्धि सम्भव हुने बताउनु भयो । कार्यक्रममा मेलम्ची नगर सभापति मधु सुदन सिग्देल,ट्रेड युनियन कांग्रेस प्रदेश-३ का उपाध्यक्ष लिलानाथ चौलागाईं, काउन महासचिव प्रदिप आचार्य , शिक्षक संघ, काउनका जिल्ला अध्यक्ष लगायतले राज्यले श्रमिकहरुको समस्यामा आखा चिम्लेको आरोप लगाउनु भयो ।

 

यसैगरी ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोक जिल्ला युवा समिति अध्यक्षमा उद्द्व धिताल र महिला अध्यक्षमा शुभद्रा रुपाखेती चयन हुनु भएको छ । कार्यक्रम संचालन जिल्ला सचिव हरिचन्द्रा खड्का र जिल्ला अध्यक्ष युवराज गिरिको अध्यक्षतामा सम्पन्न भएको थियो ।