सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ३१ आश्विन २०७८ / Sunday, 17 October 2021

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा



प्रकाशित समय: आइतवार, ०३ : १२ बजे आश्विन १० गते



गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

 

संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदै छ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, ‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु। ‘पैत्रिक सम्पतिको अधिकार, राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु।’

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ ।गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् ।करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए ।