सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

‘मुलुकमा रहेका सामुदायिक पुस्तकालयको सर्वेक्षण गरिने’

प्रकाशित समय: बिहिवार, ०६ : १९ बजे पुष ८ गते



‘मुलुकमा रहेका सामुदायिक पुस्तकालयको सर्वेक्षण गरिने’

ललितपुर, मुलुकमा रहेका सामुदायिक पुस्तकालयहरुको सर्वेक्षण एवं खोजी गरिने बताइएको छ । 

 

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलमा अवस्थित ‘गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र’ ले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठले नेपाल सरकार अन्तर्गत शिक्षा मन्त्रालय तथा आफ्नो संस्था र शिक्षा सम्बन्धी अनुसन्धान गर्ने संस्था न्यू ऐराले संयुक्त रुपमा एकैसाथ सो काम गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस कामले मुलुकमा यस पुस्तकालय कति छन अनि तिनीहरुको अवस्था के छ तथा हाल यीनिहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन सजिलो हुनेछ । पुस्तकालयको खोजी गरेसँगै सोको सङ्ख्या कति छन् भन्ने सजिलै थाहा पाउन सकिने उहाँको भनाइ छ । 

 

 

शान्त्ति भोेलेन्टियर एशोसियसनका कार्यक्रम संयोजक विनोद गुरुङले मुलुकमा पठन पाठन शैलिको विकासका लागि आफ्नो संस्थाले २०७२ सालको विनाशकारी भूकम्पपछि सो तवरका दुई पुस्तकालय मर्मत सुधार गर्नाका साथै एक नयाँ बडिखेलमा साँढे दुई तला पक्की भवन निर्माणमा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडा र नगरपालिकाले प्रदान गरेको डेढ रोपनी जग्गामा हामीले यस भवन निर्माण गरी गोदावरीका जनतालाई विभिन्न प्रकारका पुस्तकका साथै पत्रपत्रिका अनि कम्प्युटरको समेत ज्ञान प्रदान गरिरहेका छाँै ।” 

 

पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले एशोसियसन जापानले सहयोग गरेको रु एक करोड २७ लाख र नगरपालिकाले प्रदान गरेको रु २८ लाख गरी आफूहरुले रु एक करोड ५५ लाखको भवन निर्माण लगायतका आवश्यक काम गरिसकेको गरिसकेको बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “यस पुस्तकालयबाट गोदावरीका नागरिकको शैक्षिक एवं आर्थिक तथा सामाजिक हैसियतमा सकारात्मक अभिवृद्धि गर्ने अभिप्रायका साथ हाल ११ हजार एक सय ९० पुस्तकको व्यवस्था गरिसकेका छाँै ।” सो सामुदायिक पुस्तकालयमार्फत शैक्षिक प्रतियोगिता अनि घुम्ती पुस्तकालय  तथा पुस्तक प्रदर्शनीका साथै साक्षारता कक्षा सञ्चालन एवं बाल कक्षा र यस सम्बन्धी उद्यान कार्यक्रम आदि अघि बढाइरहेको उहाँको भनाइ छ । “पुस्तकालय मार्फत बालबालिकाका लागि पुस्तक अध्ययन तथा खेल मनोरञ्जन अनि रङ्गरोहनका साथै चित्रकला आदि समेत आयोजना गर्ने गरेका छाँै”, उहाँले थप्नुभयो, “यसका अलवा हामीले हस्त लेखन तथा कविता अनि कथा र निवन्ध प्रतियोगिता आदि समेत गराउने गरेका छाँै ।”

 

 

सो कार्यक्रममा उपस्थित व्यक्तिले पुस्तकालयले प्रतिभा प्रष्फुटन अनि स्वास्थ्य सरसफाइ परामर्श तथा महिलाहरुका लागि पुस्तक एवं पत्रपत्रिका अध्ययन गर्ने तथा परामर्श दिने विविध ज्ञानवर्धक वृत्तचित्र प्रदर्शनी गर्ने गरेको बताइएका थिए । 

विसं २०७० मा रिड नेपाल काठमाडौंद्धारा तत्कालिन बडिखेल गाविसमा सेवा सुरु गरिएको बताउँदै पुस्तकालय स्रोत केन्द्र रिडकै निरन्तर सहयोग र समन्वयबाट सेवा सञ्चालन र विस्तारको सो अवस्थासम्म आइपुगेको अधिकारीले सुनाउनुभयो । 

 

 

उक्त कार्यक्रममा सो पुस्तकालय स्रोत केन्द्र २०७४ साल भदौ ७ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा दर्ता भई हाल बडिखेलमा आफ्नो लक्ष्य र उद्देश्यमा निरन्तर समर्पित र सञ्चालित भइरहेको जानकारी गराइएको थियो।