सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १६ चैत्र २०८० / Friday, 29 March 2024

टी-२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने (तालिकासहित)



प्रकाशित समय: शुक्रवार, १२ : ३७ बजे माघ ७ गते



टी-२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने (तालिकासहित)

काठमाडौं, ७ माघ । आईसीसी टी-२० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अष्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । 

१६ अक्टोबरबाट सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो दिन श्रीलंका र नामिबिया भिड्दा सोही दिन क्वालिफायर-२ र क्वालिफायर-३ बीच प्रतिस्पर्धा हुनेछ । 
यस्तै साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्ने भएको छ । जुन खेल २२ अक्टोबरमा हुनेछ । भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल २ नोभेम्बरमा सिड्नीमा हुनेछ भने १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुनेछ ।

सुपर १२ को ग्रुप ‘वान’ मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन् । समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन् । पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन् ।

त्यस्तै समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच हुनेछन् । त्यस्तै ग्रुप ‘टु’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।