सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

‘कबड्डी ४’सिनेमाघर एपमार्फत डिजिटल रिलिज हुने, खगेन्द्र भन्छन्, ‘यूट्युबभन्दा एपबाट धेरै रेभिन्यू आउँछ

प्रकाशित समय: बिहिवार, ०३ : १५ बजे कार्तिक २४ गते



‘कबड्डी ४’सिनेमाघर एपमार्फत डिजिटल रिलिज हुने, खगेन्द्र भन्छन्, ‘यूट्युबभन्दा एपबाट धेरै रेभिन्यू आउँछ

काठमाडौँ।नेपाली फिल्मको इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्रिमियर हुने भएको छ । भोली शुक्रवारबाट नेपालको उदयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा फिल्म डिजिटल प्रिमियर हुन लागेको हो । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एप र फिल्मको टिमले यसबारेमा जानकारी गरायो । यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ ।

 

निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए । ‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यवसायिक पक्ष पनि हेर्छ । र, आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भन्ने पनि हुन्छ । यी दुवै कुराका लागि ‘कबड्डी ४’ सिनेमाघरमा रिलिज गर्न लागेका हौं ।’

 

सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । उनले अब यूट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए । उनले भने, ‘यूट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन । यूट्युबमा धेरै दर्शकले त हेर्लान् त पैसा एकदमै कम आउँछ । अहिले सिनेमाघर निर्मातालाई यूट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ ।’

 

यूट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । दशैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाई गरेको उल्लेख गर्दै उनले दुई/तीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०/४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे ।

 

सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने जानकारी दिए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए ।

 

चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद कुरा रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको बताए । कार्यक्रममा ‘कबड्डी ४’का कलाकारहरु बुद्धि तामाङ, विजय बराललगायतको पनि उपस्थिति रहेको थियो ।