सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा



प्रकाशित समय: बिहिवार, ०५ : ४९ बजे जेठ ११ गते



रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

काठमाडौं । सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन साखमा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार साँझ शीतल निवासमा भेटेर छलफलसमेत गरेका थिए ।

 

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।