सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ३ मंसिर २०७६ / Tuesday, 19 November 2019

बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति


प्रकाशित समय: शनिवार, १० : ५८ बजे श्रावण ४ गते



बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति

 बनेपा-  बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ ।

 

दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा टनेलमा बीउ राखिएकोमा बाढीले नष्ट गरेपछि करीब रु एक करोड बराबरको क्षति भएको बुद्ध फलफूल नर्सरीका सञ्चालक शम्भु तामाङले बताउनुभयो ।

 

तीन रोपनी जग्गामा भाडामा लिएर पाँच वटा टनेलमा उत्पादन गर्दै आएको किबीको बिरुवा विभिन्न जिल्लामा पु¥याउने लक्ष्यका साथ काम गर्दै आएको छ । अघिल्लो वर्ष पनि पाँच वटा जिल्ला रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र मकवानपुरका लागि आएको मागका आधारमा बिरुवा उत्पादन गरी बिक्री गरेको उहाँको भनाइ छ ।

 

यस वर्ष पनि बागवानी विकास केन्द्र, फलफूल विकास निर्देशनालय किर्तिपुरबाट आएको मागअनुसार विभिन्न जिल्लामा पु¥याउने गरी दुई लाख वटा बिरुवा उत्पादन गरेको उहाँको भनाइ छ । “एकदम राम्रोसँँग फस्टाउँदै आइरहेको थियो, पानी परेको बेलामा बाढी पसेर सबैजसो सखाप पा¥यो ।” उहाँले भन्नुभयो, “एक लाख पचास हजार वटा बिरुवा रहेकोमा एक लाख वटाभन्दा बढीमा क्षति पुगेको छ ।”

 

उहाँको नर्सरीमा उत्पादन गरेको किबीको बिरुवा प्रतिबोट रु १०० को दरले बागवानी विकास केन्द्र, फलफूल विकास निर्देशनालयले खरीद गरेर विभिन्न जिल्लाका किसानको मागको आधारमा वितरण गर्दै आएको छ । उहाँले भन्नुभयो, “एकातिर सरकारले विभिन्न जिल्लाका किसानको मागलाई पूर्णता दिन सकेन, अर्कोतिर आफ्नो लगानी पनि डुब्यो ।” अर्को ठाउँमा भएको नर्सरीमा रहेको पचास हजार बोट बाँकी छ ।

 

नेपालमा चार-पाँच थरीको किबी खेती गर्दै आएको उहाँको भनाइ छ । सरकारको नियमअनुसार रु १०० प्रतिबोट बिक्री गर्ने भए पनि आफूले बाहिर बेच्दा प्रतिबोट दुईदेखि तीन सयसम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

 

यससँगै उहाँले सुन्तला, जुनार, कागती, एबोकाँडो, हलुवाबेद, नास्पाति, मधेसी बदाम, मेकाडेमीनट लगायतको फलफूलका बिरुवा उत्पादन र बिक्री गर्दै आउनुभएको छ । नेपालमा नै पहिलो पटक किबीको बिरुवा उत्पादनको काम शुरु गर्नुभएको उहाँले विसं २०५८ बाट अलिअलि उत्पादन गरेको र २०६०/०६१ सालबाट व्यावसायिक रुपमा नै बिक्री गर्दै आएको बताउनुभयो ।

 

त्यसबेला स्वयंसेवी जापानीहरु नेपालमा आउने बेलामा बीउ राख्ने तरिका सिकाएको र पछि आफै जापान पनि गएर एक हप्तासम्म सिकेर आएपछि नेपालमा नै किबीको बीउबाट बिरुवा उमारेर व्यावसायिक रुपमा नै बिक्री गर्दै आएको उहाँको भनाइ छ ।