सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

तरकारी खेतीबाटै घरबार

प्रकाशित समय: बुधवार, ०६ : ०१ बजे बैशाख २० गते



तरकारी खेतीबाटै घरबार

सिन्धुपाल्चोक संवाददाता , २० वैशाख
चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेकी दुधलक्ष्मी श्रेष्ठ (४३) गाउँकै अब्बल कृषकमा गनिन्छिन् । घरभन्दा धेरै तलको बेसी खेतमा परम्परागत बाली गर्दै आएकी उनले तीन वर्षदेखि व्यवसायिक कृषि खेतीमा हात हालिन् । गहुँ, कोदो, मकैलाई छाडेर अहिले सिजन अनुसारको गोलभेंडा, काँक्रा, प्याज, लसुनलगायतको तरकारी उत्पादनमा जोड दिदै आएकी छिन् उनी ।
तरकारी खेती गर्ने बेलामा उनलाई कुनै प्राविधिक विषयमा पत्तो थिएन । विना तालिम र सीपमै व्यवसायिक तरकारी खेतीमा होमिएकी उनले समय र भाग्यले साथ दिदाँ घाटा व्यहोर्नु परेन । अहिले केही तालिम पाएपछि झनै व्यवसायिक बन्न हौसिएकी उनी गाउँकै सफल मात्रै हैन अगुवा नमूना कृषकसमेत बनेर गाउँलेलाई दंग तुल्याएकी छिन् ।
‘पहिला केही थाहा थिएन, बेर्ना उमार्ने, पानी हाल्ने र पाकेपछि टिप्ने मात्रै गर्थें’ उनले विगत सम्झिइन्, ‘तर धेरै फरक रहेछ, अहिले तालिम लिएपछि धेरै बुझ्ने भएकी छु ।’ यूएन वुमेनको सहयोगमा साथी नामक संस्थाले उनलाई व्यवसयिक तरकारी खेतीका लागि तालिम प्रदानका साथै विभिन्न सहयोग दिएपछि अहिले उनी झनै उत्साहित भएकी छिन् ।
‘पहिला त्यत्तिकै तरकारी खेतीमा हाम फालेकी रहेछु,’ दुधलक्ष्मीले भनिन्, ‘कसरी मैले घाटा खानुपरेन भनेर अहिले दंग छु ।’ उनले तालिममा विभिन्न खाले प्राविधिक ज्ञान पाएकाले अब भने तरकारी खेतीबाट निकै आम्दानी गर्छु भन्ने आत्मविश्वास बढेको बताइन् । चौतारामा भएको पाँच दिने तालिमबाट रोगव्याधी, विषादी प्रयोग, जैविक मल प्रयोग आदी सीप पाएपछि दुधलक्ष्मी अझै खेती गर्न हौसिएकी छिन् । तालिमअघि अर्गानिक खेती, रोगव्याधी, विषादी प्रयोग, जैविक मल बनाउने र प्रयोग गर्नेबारे केही थाहा नभएको उनले बताइन् । तालिमले व्यवसाय वृद्धि गर्न र बढी भन्दा बढी नाफा कमाउन हिम्मत दिएको सुनाउँछिन् उनी ।
घर मुनी एउटा बारीकै पाटामा उत्पादन भएको तरकारीबाट यो वर्ष झण्डै एक लाख रुपैयाँ भित्र्याइन् । प्याजको बेर्ना मात्रै ७ हजार रुपैयाँको विक्री गरेको उनी बताउँछिन् । ‘अब खेती विस्तार गर्छु,’ उनी गर्वका साथ भन्छिन्, ‘साथी संस्थाले दिएको तालिममा धेरै सैद्धान्तिकका साथै प्रयोगात्मक ज्ञान सिकेकीले अब भने केही गर्छु जस्तो लागेको छ ।’ तरकारी खेतीका लागि उनलाई पानीको समस्या थियो । अहिले एक सामाजिक संस्थाको पहलमा झण्डै ६ किलोमिटर टाढाबाट पाइप लगाएर घरमै निजी धारा जोडेकी छन् । ‘अब त पानीको समस्या पनि छैन,’ उनी भन्छिन्, ‘मेसिन लगाएर घरमै धारा ल्याएकी छु, तरकारी खेती गर्न जति पनि पानी पुग्छ अब ।’
पछिल्लो साल तरकारी खेती गर्नका लागि उनी आफ्नो भाग्य बलियो भएको बताउँछिन् । ‘यही वर्ष तालिम पनि पाएँ, धेरै कुरा बुझें,’ फुरुङ्गिएकी उनले उत्साहित हुँदै भनिन्, ‘झन् सहयोग गर्ने संस्था पनि दैलोमै आइपुग्यो ।’ उनले यूएन वुमेनको सहयोगमा साथीले गरेको सहयोगले सफलता नजिक पुगेको बताइन् । उनलाई साथीले सात हजार ५ सय रुपैयाँ बराबरको बेर्ना सहयोग गरेको बताइन् । ‘बेर्नासँगै टनेल पनि पाएकी छु,’ दुधलक्ष्मी भन्छिन्, ‘अब त आम्दानी दोब्बर÷तेब्बरसम्म गर्नसक्छु भन्ने हिम्मत पलाएको छ ।’ बर्खायाममा तरकारी खेती गर्न निकै कठिन हुने उनको अनुभव छ । ‘यो वर्ष भने ढुक्क छु, चाहेको तरकारी लगाउन सक्छु,’ उनले कारण खुलाउँदै भनिन्, ‘साथीले टनेल दिएको छ । ठूलो पानी टनेलले रोक्दा विरुवा मर्दैनन्, फल  झर्दैनन् ।’
गाउँकै मेहनतिली र हिम्मतवाली कृषक भएकै कारण उनलाई जिल्ला कृषि विकास कार्यालयले नमूना अगुवा कृषकका रुपमा छनोट गरेको छ । उनको एकल प्रयासले गरेको तरकारी खेतीले घर खर्च धान्ने मात्रै हैन, दुई छोरी र एक छोरालाई प्रमाणपत्र तहसम्म अध्ययन गराउन सकेकी छन् । उनीहरु अझै अध्ययन गर्दैछन् आमाकै कमाईको सहायताले ।
गत वर्षको भूकम्पले उनको घर एकै झट्कामा ‘ग्राउण्ड जिरो’ बनाइदियो । त्यही घरले दुधलक्ष्मीलाई पु¥यो । दुई घण्टापछि स्थानीयले उद्धार गर्दा उनको देब्रे खुट्टा र हात भाँच्चिएको थियो । छातीमा पनि चोट लागेकाले अहिले उनलाई काम गर्न केही गाह्रो हुन्छ । ‘गाह्रो भए पनि तरकारी कसरी धेरै उत्पादन गर्ने भन्ने र आधुनिक प्रविधिबारे जानकारी पाएकीले हौसिएकी छु ।’ उनले भनिन्, ‘खेती गर्ने तरिका बल्ल जानेकी छु । अब गरेर देखाउने समय भएकाले अझै बढी मेहनत गर्छु ।’
दुधलक्ष्मीजस्तै यूएन वुमेनको सहयोग र साथी संस्थाको समन्वयमा जिल्लामा २० गृहिणीले व्यवसायिक तरकारी खेती गरिरहेका छन् । साथी संस्था सिन्धुपाल्चोककी  प्रतिभा श्रेष्ठकाअनुसार साविक गाविस  सानोसिरुवारी, ठूलोसिरुवारी, कुविण्डे र चौताराका महिलालाई तालिम दिएर सहयोग गरिएको जानकारी दिइन् । ‘हामीले पाँच दिने विविकोपार्जन तालिम दिएर उहाँहरुलाई आवश्यक सहयोग गरेका छौं,’ प्रतिभाले भनिन्, ‘सुरुआती चरणमा प्लाष्टिक टनेल, तार किल्लालगायतका सामग्रीका साथै तरकारीको विऊ प्रदान गरेका हौैं ।’ उनले महिलालाई थप व्यवसायिक बनाएर आत्मनिर्भर बनाउनका लागि आधुनिक प्रविधिको तालिमका सातै अन्य आवश्यक सहयोग गरिएको बताइन् ।