सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

निर्यातभन्दा आयातको अवस्था डरलाग्दो, पाँच महीनामा पाँच खर्ब बढी व्यापारघाटा

प्रकाशित समय: शुक्रवार, ०२ : २८ बजे माघ ४ गते



 निर्यातभन्दा आयातको अवस्था डरलाग्दो, पाँच महीनामा पाँच खर्ब बढी व्यापारघाटा

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ ।

 

गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यस वर्ष एक दशमलव शून्य एक प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रतिशतले बढी हो ।

 

आव २०७४।७५ को मङ्सिरसम्ममा १८.२ प्रतिशत रहेको आयात वृद्धिदर यसै वर्षको पाँच महीनामा १६ प्रतिशतले वृद्धि भई ३४.२ प्रतिशत रहेको छ । नेपालीको उत्पादनभन्दा उपभोग गर्ने संस्कृतिमा वृद्धि भएकाले मुलुकको शोधानन्तर स्थिति कमजोर हँुदै गएको हो ।

 

अर्थशास्त्री भवानी खनालका अनुसार मुलुकको अर्थतन्त्र राम्रो हुन आयात र निर्यातको अवस्था झन्डै बराबरी हुनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार नेपालको अर्थतन्त्रमा निर्यातभन्दा आयात २३ प्रतिशतले बढ्नु भनेको दिगो विकासमा राम्रो सङ्केत होइन ।

 

वस्तुगत आधारमा चालू आवको पाँच महीनामा रु छ खर्ब सात अर्बको पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्ट्स, हवाइजहाज तथा पार्टपूर्जा, एम.एस.बिलेट, अन्य उपकरण तथा पार्टपूर्जा, तरकारी फलफूल, तथा चामललगायत अन्य खाद्यान्नको आयात बढेको छ भने निर्यात गर्न सकिने सम्भावनायुक्त कृषि क्षेत्रसमेत परनिर्भर छ ।

 

चालु आवको पाँच महीनामा रु ३७ अर्ब ५० करोडका वस्तुगत सामग्रीमा यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान निर्यात भएको थियो । यस हिसाबले चालू आवको पाँच महीनामा मुलुकको व्यापारघाटा पाँच खर्ब ६९ अर्ब ५० करोड पुगेको छ ।