सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

तातोपानी नाका बन्दको असर

प्रकाशित समय: बुधवार, ०६ : ४१ बजे बैशाख २० गते



तातोपानी नाका बन्दको असर

संवाददाता
सिन्धुपाल्चोक, २० वैशाख
नेपाल–चीन बीचको एक मात्र स्थलमार्ग तातोपनी नाकामा भारी बोकेरै दैनिक पाँच हजारसम्म कमाई गर्ने सोमजित थामी अरब उडे । नाका सूचारु हुँदा साना व्यापारीको सामान ओसारेकै भरमा ६ जनाको परिवार पालेका उनी रोजीरोटी गुमेपछि दुबई उड्न बाध्य बने ।
‘काम ठप्प हुँदा घरखर्च चलाउनै हम्मे प¥यो, त्यसैले उहाँ विदेशिनुभयो,’ उनकी श्रीमति विमलाले भनिन्, ‘काम छऊञ्जेल गरेको केही पैसा बचत पनि सकिएपछि अर्काे विकल्प नहुँदा उहाँले देश नै छाड्नुपर्ने बाध्यता भयो ।’ उनकाअनुसार आफ्ना श्रीमान्सँगै काम गर्ने अरु युवा पनि परिवारमा छाक टार्ने सकस्याले पिरोलेपछि विदेशिएका छन् । सोमजितले विदेश जानकै लागि डेढ लाख ऋण लिएर दुबई उडेको विमला बताउँछिन् । उनी मंसिर अन्तिम साता कामको खोजीमा विदेशिएका हुन् ।
सोमजितसँगै काम नाकामा काम गरेर आफ्नो परिवारलाई खुशीसाथ राखेका अरु पनि विदेशिन बाध्य बने । सीमा गाउँ लिपिङका उद्धव थामी, विकाश, दिनेशलगायतका युवा समूह कतार, दुवई, मलेसियालगायत देशमा पुगेका छन् । ‘नाकामा काम गर्ने धेरै विदेश उडे,’ विमला भन्छिन्, ‘यहाँ काम नपाएपछि परिवार छाडेर उनीहरु विदेश पलायन भएका हुन् ।’
तातोपानी नाका सञ्चालन हुँदा घरमै बसेर काम गरिरहेकाहरु अहिले बेरोजगार बनेका छन् । केही घरमै छन्, केही काठमाण्डौं पसेका छन् । मितेरी पुल पारीबाट वारीसम्म नाम्लो लगाएरै सामान ल्याउने गरेका लिस्तीका फुर्वा तामाङ पनि काम खोज्दै साउदी पुगेका छन् । उनी दुई महिनाअघि मात्रै गाउँमा रोजगारीको वातावरण नदेखेपछि विदेश हान्निएका हुन् । ‘नाका खुल्ला र काम पाइएला भनेर उहाँ कुर्नुभयो,’ फुर्वाका भाई मिङ्मारले भने, ‘अब म पनि उतै जाने सुरमा छु, यहाँ बसेर के गर्नु ।’ उमेरले २२ पुगेका मिङ्मार पनि नाकामै भारी बोकेर जीवन निर्वाह गर्थे । ‘कम्तीमा ३ हजारसम्म दैनिक कमाई हुन्थ्यो,’ उनले भने, ‘पढेलेखेको पनि छैन, अरु काम नपाउँदा घरखर्च चलाउने निकै समस्या भयो ।’ उनले राहदानीसमेत बनाइसकेका छन् । ‘काठमाण्डौंको मेनपावरसँग कुरा भइरहेको छ, छिट्टै उडिन्छ होला ।’ उनले भने ।
सीमा गाउँ तातोपानी, मार्मिङ, लिस्ती, फुल्पिङकट्टीलगायतका युवाहरु विशेषगरी भुईंचालोपछि राहदानी बनाएर विदेशिएको पाइएको छ । भूईंचालोपछि मानव बेचविखन न्यूनीकरणमा क्रियाशील हुँदै आएको सामाजिक संस्था माइली नेपालले गरेको एक सर्भेक्षण अनुसार मार्मिङमा बैदेशिक रोजगारीमा जानेको संख्या अत्याधिक बढेको छ । तथ्यांकअनुसार यो गाउँबाट पुरुषको तुलनामा ७० प्रतिशत महिला विदेशिएका छन् । ‘झन् भूईंचालोपछि विदेशि न महिलाको संख्या डरलाग्दो गरि बढेको पाइयो,’ माइती नेपाल सिन्धुपाल्चोककी कार्यक्रम संयोजक पवित्रा घिमिरेले भनिन्, ‘असुरक्षित रुपमा महिला विदेशिएका छन्, यसलाई न्यूनीकरण गर्नु ठूलो चुनौति छ ।’
पहिले मार्मिङका युवतीहरु खासामा सञ्चालित डिस्को, डान्सबार, रेष्टुँरामा काम गर्ने गर्दथे । अहिले नाका बन्द हुँदा खासा बजारसमेत ठप्प रहेकाले यो गाउँका युवतीहरु बढी विदेशिएको घिमिरेको अनुमान छ । यो गाउँबाट मात्रै भूईंचालोपछि १ हजार ५ सयको हाराहारीमा युवायुवती विदेश गएको पाइएको उनले बताइन् ।
नाका पुन सूचारु नभएकै कारण अरनिको राजमार्गमा होटल व्यवसाय गरेर बस्ने अधिकांश युवाहरु विदेशिएको स्थानीय बताउँछन् । ‘व्यापार ठप्प भएपछि होटल बन्द गर्नेहरु धेरै छन्, जो अहिले विदेश पुगेका छन्,’ तातोपानीका स्थानीय दावा लामाले भने । उनकाअनुसार भुईंचालोभन्दा पनि यो क्षेत्रका युवा भोटेकोशी बाढी आएपछि घर सबै बगाएको र आफूले लगानी गरेको सामग्री बाढीमै मिसिँदा विदेश पलायन भएका हुन् । नाका सञ्चालन नहुँदा दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्ने भन्सार कार्यालय बन्द छ । पर्यटकीय गाउँ तातोपानी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प छ । पर्यटक नआउँदा यहाँका व्यवसायी डुबेकै कारण लगानी गरेको ऋण तिर्न युवाहरु विदेश भासिएको दावाले बताए ।
भूईंचालोअघि अरनिको राजमार्गमा मात्रै दैनिक ४० लाख रुपैयाँको कारोबार हुन्थ्यो । अहिले त्यो ठप्प जस्तै बनेको छ । ‘लिपिङ बजारमा हुने चहलपहलले यहाँका हुनै होटल खाली हुँदैनथ्यो,’ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठले भने, ‘करोडौं लगानी गरेर खोलिएको होटलको कारोवार एकैचोटी जिरोमा पुग्दा युवाले विदेश नै पहिलो देख्दो रहेछन् ।’ उनकाअनुसार नाकामा भारी बोकेर ज्यालादारी गर्नेको रोजीरोटी गुमेकै कारण अधिकांश युवा विदेशिएका हुन् ।
अहिले नाका सञ्चालनका लागि कुनै कठिनाई छैन । ‘सबै भौतिक पूर्वाभारन निर्माण भइसकेको छ, हामी व्यापार गर्न तयार छौं,’ कमलकुमारले भने, ‘युवाशक्ति विदेश पलायन रोक्नमात्रै नभई गाउँमै रोगारीको वातावरण बन्ने भएकाले नाका सञ्चालनका लागि सरकारले अझै विशेष पहलकदमी गर्नुपर्छ ।’ उनले  नाका सञ्चालन नभएका कारण अधिकांश व्यापारीलाई समेत समस्या भइरहेको बताए ।