सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

साफ यू–१९ : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

प्रकाशित समय: सोमवार, ०३ : ५६ बजे आश्विन ८ गते



 साफ यू–१९ : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

 

पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । डिबक्स भन्दा निकै टाढाबाट प्रशान्तले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए ।

 

दोस्रो हाफमा ५८ औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेल सकिन दुई मिनेट बाँकी छदाँ निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए ।

 

दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । बराबरीको नतिजाले मात्र माल्दिभ्स अन्तिम चारमा पुग्न सक्थयो ।

 

तर नेपालले आफु अनुकुलको जित सहित समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ । माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ । समूह बीको विजेता टुङ्गो लगाउन सोमबार साँझनै भारत र भुटानबीच प्रतिस्पर्धा हुदैछ ।

 

नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे । अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।

 

त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।