सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

बेमौसमी पानीका कारण ललितपुरमा करिब तीन करोड इट्टा नोक्सान,व्यवसायी चिन्तित

प्रकाशित समय: आइतवार, ०७ : ०९ बजे माघ १३ गते



बेमौसमी पानीका कारण ललितपुरमा करिब तीन करोड इट्टा नोक्सान,व्यवसायी चिन्तित

ललितपुर, केहीदिनदेखि लगातार परेको पानीका कारण ललितपुरका इट्टा व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।

 

लगातार परेको पानीका कारण काँचो इटा उत्पादन गरी चिम्नीमा पोल्न तयारीमा रहेको करिब २ करोड ५० लाख ईट्टा नोक्सान भएको छ।

 

बिहीबारदेखि लगातार परेको पानीले एउटा इटाभट्टामा करिब छ लाख इट्टा नोक्सान भएको ललितपुर ईट्टा व्यवसायी सङ्घका अध्यक्ष प्रेम कृष्ण महर्जनले जानकारी दिए। महर्जनले ललितपुरमा सञ्चालित ३६ वटा ईट्टाभट्टाबाट करिब ३ करोडको काँचो इटा नोक्सान भएको बताए। उनले इट्टा नोक्सान हुँदा व्यवसायीलाई मात्र नभई मजदुरलाई समेत मर्का परेको बताए।

 

उनले इट्टा बनाएर खलाबाट चाँङ लगाउन बाँकी रहेको काँचो इटा पानीले भिज्दा मजदुरलाई नोक्सान भएको बताए। खलामा बनाएको काँचो इटा चाँङ लगाएपछि मात्र मजदुरले पैसा पाउने गर्छन्।

 

हनुमान इट्टा उद्योगका संचालक ईट्टा व्यवसायी केशव केसीले बेमौसमी पानीका कारण व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको जानकारी दिए।

 

उनले ईटा उत्पादन गर्ने समयमा पानीले अवरोध गरेपछि बजारमा मागको परिणामअनुसार ईटा उत्पादन हुन नसक्ने र इट्टाको अभाव भै मूल्यवृद्धि हुनसक्ने बताए।