सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

स्थानीय तहमा काग्रेंसको लहर

प्रकाशित समय: शुक्रवार, ११ : १३ बजे बैशाख २२ गते



स्थानीय तहमा काग्रेंसको लहर

सिन्धुपाल्चोक, २१ वैशाख
स्थानीय चुनाव नजिकिदै गर्दा जिल्लामा चुनावी  सरगर्मी बढेको छ । जिल्लामा रहेका ३ नगरपालिका र ९ गाउँपालिकामा चुनावी चहलपहल बढेको छ । स्थानीय चुनाव आउन ठ्याक्कै दश दिन बाँकी रहदा गाउँ–गाउँमा दलहरुले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । नगरपालिका र गाउँपालिकामा सबै दलहरुले आफ्नो जीतको दाबी गरिरहदाँ विभिन्न आँकलन हुन थालेको छ । सदरमुकाम नै रहेको चौतारा–साँगाचोकगढी नगरपालिकामा त्रिपक्षीय भिडन्त पर्ने देखिएको पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना बताउँछन् । यसअघिको संविधानसभा निर्वाचनमा नेकपा  माओवादी विजयी भएको यस क्षेत्रमा टिकट विवादका कारण माओवादीमा फुट देखिएको छ । त्यसको प्रत्यक्ष फाइदा एमाले लिने दाउमा छ । तर पछिल्लो समयमा काग्रेसले पनि आफ्नो राम्रो पकड राखेकाले एमालेको पनि सहज जित हुन भने गा¥हो छ । यदि आन्तरिक कलहलाई मत्थर पारेर कार्याकर्तालाई एकत्रित गर्न सके नेकपा माओवादीका अमानसिंह तामागं मेयरका बलियो दाबेदार देखिन्छन् । मेलम्ची नगरपालिकामा पनि यस्तै आँकलन गर्न सकिन्छ । मेयरमा एमालेका बलिया उमेद्वार डम्बर बहादुर अर्याललाई लिएपनि टिकट वितरणमा भएको कलहका कारण एमालेलाई जित धौ धौ पर्ने देखिन्छ ।  मेलम्चीमा एमालेमा देखिएको टिकट विवादले निम्त्याएको फुटको फाइदा माओवादी र काग्रेस लिने दाउमा छन् ।

 

बाह्बिसे नगरपालिकामा काग्रेसका मेयरका उमेद्वार बालकृष्ण बस्नेत सहितको टिमले जित्ने आँकलन गर्न सकिन्छ । काग्रेंसको पकेट क्षेत्रको रुपमा रहेको यस नगरपालिकामा एमालेसँग मुख्य भिडन्त पर्ने देखिएपनि काग्रेसले जित्ने दाबी मतदाताहरु गर्दछन् ।
जिल्लामा रहेका ९ गाउँपालिकामा भोटेकोशी, पाखरलिसंखु, बलेफि, जुगल र हेलम्बुमा काग्रेंसले जित्ने आँकलन गरिएको छ । पुराना मान्छे भएकाले पाखरलिसंखुमा कग्रेंस उमेद्वारको राम्रो पकड रहेको छ । तर एमालेका सचिव कमल नेपाल पनि यहाँका बलिया दाबेदार मानिन्छन् ।  भोटेकोशीमा त्रिपक्षीय  भिडन्त पर्ने देखिएको छ । काग्रेंस एमाले र नेकपा माओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा पहिला काग्रेंस बलियो रहेपनि अहीले अरु पार्टी पनि बलियो भएकाले जित भने काग्रेंसलाई सहज देखिदैन ।  त्रिपुरा सुन्दरी गाउँ पालिकामा उमेद्वारको हिसाबले काग्रेंसका भक्तध्वज बोहोरा बलियो देखिन्छन् । तर सांगठनिक हिसाबले भने एमाले बलियो रहेको छ । बलेफि गाउँपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । काग्रेंस , एमाले र माओवादीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमालेका उमेद्वार व्यवसायी र गाउँमा नबस्ने, माओवादी पहिलेजस्तो बलियो अवस्थामा नरहेको हुदा काग्रेंसका उमेद्वार रामकुमार लामाले बाजी मार्ने देखिन्छ । स्थानीय ठाउँमा बसेर समाजसेवा गरिरहेका उनी विकासप्रेमी नेता मानिन्छन् ।

पछिल्लो समयमा युवाहरुको प्रेरणाको स्रोत बन्न सकेका लामाको जित सुनिश्चित भएको तरुण दलका नेता फापाङ्ग तामागं बताउँछन् । त्यसैगरी जिल्लामा रहेको पाँचपोखरी गाउँपालिकामा भने राप्रपा र काग्रेंसको प्रतिस्पर्धा हुने देखिन्छ । राप्रपाको राम्रो पकड रहेको यो क्षेत्रमा राप्रपा नेता उदय सापकोटाकोले जित्ने राजनितिकर्मी नातिकाजी सापकोटा बताउँछन् ।  
इन्द्रावती गाउँपालिकामा काग्रेंसको चुनावी चहलपहल व्यापक गरेपछि माओवादी र एमाले सशंकित बनेका छन् । एमाले अध्यक्ष झम्क नेपाल गाउँपालिकाको उमेद्वार रहेको यस क्षेत्रमा काग्रेंसको जनलहर देखि एमाले त्रसित देखिएको छ । काग्रेंसको लहर देखेर चुनाव जित्नैपर्ने दबाबमा रहेको एमाले चुनावी रणनिति परिवर्तनको अवस्थामा रहेको पत्रकार निरज चौलागाई बताउँछन । तर काग्रेंसप्रतिको जन उत्साहले काग्रेंसको जित हुने आँकलन उनी गर्दछन् । जिल्लाको हेलम्बु गाउँपालिकामा काग्रेंस र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । काग्रेंसका उमेद्वार निमाग्याल्जेन शेर्पा बलियो उमेद्वार रहेकाले यहाँपनि काग्रेंसको अवस्था राम्रो रहेको छ । जुगल गाउँपालिकामा एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने देखिन्छ । तर यहाँ माओवादीका जयबहादुर लामाले जित्ने आँकलन गर्न सकिन्छ । यस्तै सुनकोशी गाउँपालिकामा त्रिपक्षीय भिडन्त पर्ने देखिन्छ । यहाँ काग्रेंस, एमाले र माओवादीबीच प्रतिस्पर्धा भएपनि एमाले वा काग्रेंसले जित्ने जानकारहरु बताउँछन् ।
 यसरी हेर्दा जिल्लामा स्थानीय निर्वाचनमा मिश्रित परिणाम आउने देखिन्छ । पहिलो नम्बरमा काग्रेंस, दोस्रोमा एमाले र तेस्रोमा माओवादीले स्थानीय तहमा परिणाम ल्याउने देखिन्छ ।