सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ६ मंसिर २०७५ / Thursday, 22 November 2018

चाइनाबाट आयातीत मोबाइलमा निर्भर नेपाली बजार

..
प्रकाशित समय: शनिवार, ०३ : १९ बजे बैशाख २३ गते



चाइनाबाट आयातीत मोबाइलमा निर्भर नेपाली बजार

काठमाडौं : चाइनाबाट नेपालमा आयात हुने मोबाइलको संख्यामा वार्षिक दुई गुणाको हाराहारीमा वृद्धि हुँदै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको तथ्यांकअनुसार गत पाँच वर्षदेखि निरन्तर रूपमा चाइनाबाट आयात हुने मोबाइलमा ठूलो संख्याले वृद्धि भएको देखिन्छ । अन्य देशबाट मोबाइलको आयातमा निरन्तर गिरावट भइरहेको अवस्थामा चाइनाबाट आउने मोबाइलको संख्या भने वार्षिक रूपमा दोब्बरको हाराहारीमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/०७३ मा नेपालमा आयात भएको कुल मोबाइलको ९० प्रतिशत हिस्सा चाइनाबाट आयात भएको मोबाइलको रहेको छ । यसले नेपालको मोबाइल बजार चाइनाबाट आयात हुने मोबाइलमा निर्भर रहेको देखाउँछ ।

पछिल्लो समय चाइनिज ब्रान्डप्रतिको ग्राहकको आकर्षणका साथै अन्य ब्रान्डका मोबाइल पनि चाइनामै एसेम्बल भएर आउने भएकाले चाइनको बाटो भएर नेपालमा मोबाइल भित्रिने संख्या ठूलो भएको बताउनुहुन्छ नेपाल मोबाइल आयात संघका महासचिव अमित अग्रवाल । उहाँका अनुसार मोबाइल ब्रान्ड जुन देशको भए पनि यो चाइनामा एसेम्बल भएर नेपालमा भित्रिने गरेको छ । नेपालमा भित्रिने सामसुङबाहेकका सबै ब्रान्डका मोबाइल चाइनामा एसेम्बल भएर यहाँ आउने गरेको । सामसुङले नेपालमा भियतनाम हुँदै मोबाइल ल्याउने गरेको छ । यो कुरालाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जारी गरेको पछिल्लो पाँच वर्षको तथ्यांकले पनि पुष्टि गरेको छ । आर्थिक वर्ष (आव) २०६८/०६९ मा १८ लाख ६६ हजार मोबाइल चाइनाबाट आयात भएकोमा आव २०७२/०७३ मा ४४ लाख ६२ हजार मोबाइल सेट चाइनाबाट नेपालमा भित्रिएको छ ।

आव २०६८/०६९ देखि २०७२/०७३ सम्मको पाँचवर्षे अवधिलाई तुलना गरी हेर्दा चाइनाबाट हुने मोबाइल आयातमा २.४१ प्रतिशतले वृद्धि भएको छ । मूल्यको आधारमा हेर्ने हो भने यो अवधिमा ३.०१ गुणाले वुद्धि भएको पाइन्छ । आव २०६८/०६९ मा चार अर्ब ६२ करोड ५४ लाख ६४ हजार मूल्यबराबरको मोबाइल भित्रिएकोमा आव २०७२/०७३ मा आइपुग्दा १३ अर्ब ९२ करोड ४५ लाख मूल्यको मोबाइल चाइनाबाट भित्रिएको छ । केन्द्रले आव २०७३/०७४ को पहिलो आठ महिनाको मोबाइल आयात रिपोर्ट पनि तयार पारिसकेको छ । यो आवको पहिलो आठ महिनामा आयात भएको मोबाइलाई मध्यनजर गर्ने हो भने वर्षको अन्त्यसम्ममा गत आर्थिक वर्षको तुलनामा दोब्बर नै मोबाइल आयात हुने अनुमान गर्न सकिने बताउनुहुन्छ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाई । उहाँका अनुसार यो आवको पहिलो महिनामै ११ अर्ब ८८ करोड ६२ लाख ८७ हजार मूल्यबराबरको ३४ लाख ९० हजारभन्दा बढी मोबाइल भित्रिसकेको छ ।

आव २०७१/७२ को चाइनाबाट भएको मोबाइल आयातलाई मात्र मध्यनजर गर्ने हो भने पनि आव २०७२/०७३ को तुलनामा १.२७ गुणले वृद्धि हो । आव २०७१/७२ मा ३४ लाख ९७ हजार मोबाइल सेट चाइनाबाट भित्रिएको थियो । उक्त अवधिमा चाइनाबाट नेपालमा नौ अर्ब ८० करोड ८६ लाख ३४ हजार रुपैयाँको मोबाइल आयात भएको छ । आव २०७०/०७१ को तुलनामा यो दुई अर्ब २३ करोड ९५ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । यसका साथै भारतबाट आयात हुने मोबाइलको संख्यामा पनि आव २०७१/७२ को तुलनामा वृद्धि भएको देखिन्छ । तर यो चाइनाबाट आयात भएको तथ्यांक जस्तो भने छैन । यो पाँच वर्षको अवधिमा भारतबाट आयात हुने मोबाइलको संख्यामा घटबढ भएको देखिन्छ । आव २०६८/०६९ मा २६ हजार मोबाइल सेट आयात भएकोमा आव २०७०/०७१ मा आएर नौ सयमा झरेको थियो, भने आव २०७२/०७३ मा आइपुग्दा आयातमा वृद्धि भएर ८९ हजार मोबाइल भारत बाट आयात भएको छ । भारत मोबाइल आयातको हिसाबले नेपालको लागि तेस्रा ठूलो देश हो ।

मोबाइल आयातमा नेपालको लागि दोस्रो ठूलो देशको रूपमा रहेको भियतनामबाट पनि मोबाइल आयातमा निरन्तर वृद्धि भइरहेको छ । आव २०७२/०७३ मा भियतनामबाट चार लाख ३४ हजार मोबाइल आयात भएको छ । जुन आव २०७१/७२ को तुलनामा एक लाख ८२ हजारले वृद्धि भएको हो । तथ्यांकअनुसार नेपालमा अहिले ६८ वटा देशबाट मोबाइल आयात भइरहेको छ । तर चाइना, भियतनाम र भारतबाहेकका देशबाट यो पाँच वर्षको तथ्यांकअनुसार नेपालमा मोबाइलका आयातमा बर्सेनि कम हुँदै आएको छ । नेपालमा आयात हुने कुल मोबाइलको ९० प्रतिशत हिस्सा चीनले ओगटेको छ । भ्यालुका आधारमा चीनबाट आउने मोबाइलले ७६.५१ प्रतिशत ओगटेको छ ।

पाँच आवमा चाइनाबाट आयातीत मोबाइल
आव              मोबाइल आयात (संख्यामा)
२०६८/२०६९ १८ लाख ६६ हजार
२०६९/२०७० २० लाख ३४ हजार
२०७०/२०७१ २९ लाख ९५ हजार
२०७१/२०७२ ३४ लाख ९७ हजार
२०७२/२०७३ ४४ लाख ६२ हजार
२०७३/२०७४ ६४ लाख ९० हजार