सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

“हामीले बजेट हाल्यौँ, क्याबिनेटले रोक्यो; तिनै मन्त्री गाउँमा भ्रम छर्न आए” — उदय शमशेर राणा

प्रकाशित समय: बिहिवार, ०५ : ३२ बजे माघ १६ गते



“हामीले बजेट हाल्यौँ, क्याबिनेटले रोक्यो; तिनै मन्त्री गाउँमा भ्रम छर्न आए” — उदय शमशेर राणा

ललितपुर, नेपाली कांग्रेसका सह–महामन्त्री तथा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदय शमशेर राणाले दक्षिण ललितपुरका लागि विनियोजन गरिएको सडक बजेट वर्तमान सरकारले रोकेको आरोप लगाएका छन्।

 

आज कोन्ज्योसोम गाउँपालिकामा चुनाव प्रचार तथा चुनाव परिचालन समिति उपकेन्द्र गठन कार्यक्रममा बोल्दै राणाले लेले–नल्लु–भारदेउ–चन्दनपुर–ठूलादुर्लुङ–मकानपुर हुँदै रौतहटको चैनपुरसम्म जोड्ने सडक योजना आफूहरूले बहुवर्षीय योजनामा समावेश गराएको दाबी गरे।

 

उनले उक्त सडकका लागि पहिलोपटक राष्ट्रिय योजनामार्फत २५ करोड रुपैयाँ बजेट पार्न सफल भएको र बहुवर्षीय योजनामा राखी करिब १ अर्ब रुपैयाँ बराबरको थप बजेट टेन्डर प्रक्रियामा जाने तयारीमा रहेको बताए। राणाका अनुसार उक्त योजना राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पुगिसकेको भए पनि वर्तमान मन्त्रिपरिषद्ले बजेट रोकिदिएको छ।

 

उनले पूर्वमन्त्री जगदीश खरेलप्रति लक्षित गर्दै दक्षिण ललितपुरमा आएर सडकलाई “दुर्गम” भन्दै भ्रामक अभिव्यक्ति दिएको आरोप लगाए। “हामीले बजेट हाल्छौं, तर क्याबिनेट बैठकमै बसेर बजेट रोक्ने अनि गाउँ–गाउँमा आएर बजेट हालिएको रहेनछ, यो ठाउँ दुर्गम रहेनछ दुर्गम पारिएको रहेछ।भनेर अपवाह फैलाउने काम भइरहेको छ,” राणाले भने।

 

राणाले आफू जनप्रतिनिधि भएको अवधिमा सुशासन कायम गर्न काम गरेको, एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै अहिले विभिन्न उम्मेदवारहरूले “प्रोपोगाण्डा र मिडिया ट्रायल” मार्फत भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाए। उनले मतदातालाई त्यस्ता भ्रममा नपर्न आग्रह गरे।

 

कार्यक्रममा उनले नेपाली कांग्रेसले दक्षिण ललितपुरको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको पनि बताए।