ललितपुर । जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग बाँडेगाउँको भवन पुनर्निर्माण कार्य सुरु भएको छ।
गोदावरी नगरपालिकाको वडा नं. १४ मा अवस्थित उक्त प्रहरी प्रभागको भवनको आइतबार गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन ले शिलान्यास गरे। शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महर्जनले प्रहरी नागरिकको नजिकको साथी भएको उल्लेख गर्दै प्रहरी भवन निर्माणमा स्थानीय नागरिकको सक्रिय सहभागिता रहनेमा आफू विश्वस्त रहेको बताए।
उनले भने, “प्रहरी नागरिकको सुरक्षाका लागि खटिन्छन्। यही भवनबाट सेवा प्रवाह हुनेछ, त्यसैले यो प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको आफ्नै घर हो। आफ्नै घर सम्झेर सबैले सहयोग गर्नुपर्छ।”
नागरिक र प्रहरीबीच कतिपय अवस्थामा देखिने गलत धारणालाई चिर्दै आपसी सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए। नगर प्रमुख महर्जनले प्रहरी प्रभागको भौतिक संरचना नहुँदा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने भएकाले प्राथमिकताका साथ भवन निर्माण अघि बढाइएको स्पष्ट पारे।
वि.सं. २०२५ सालमा समुदायको सुरक्षाका लागि स्थानीयवासीले प्रहरी भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको स्मरण गर्दै नगर प्रमुख महर्जनले जग्गा दातालाई नगरपालिकाले सम्मान गर्ने जानकारी दिए। उक्त प्रहरी प्रभागले गोदावरी नगरपालिकाका वडा नं. १, २, ३, ४ र १४ लाई प्रत्यक्ष सुरक्षा प्रदान गर्दै आएको छ। भवन निर्माणका लागि सम्बन्धित वडाहरूले विकास बजेटका अन्य शीर्षकबाट रकम रकमान्तर गरी विनियोजन गरेका छन्।
वडा नं. १४ का वडा अध्यक्ष निरोज बज्राचार्य ले अन्य संघ–संस्थाबाट समेत भवन निर्माणका लागि सहयोग प्राप्त भएको र थप सहयोगको प्रतिबद्धता आएको जानकारी दिए। भवन निर्माणलाई व्यवस्थित रूपमा अघि बढाउन अर्थ, निर्माण, वार्ता तथा सल्लाहकार समिति गठन गरिएको बताउँदै तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाए। दुई तल्ले उक्त भवन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी ले प्रहरी नागरिकको नजिकको साथी भएको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन निरन्तर संवाद आवश्यक रहेको बताए। उनले भवन प्रहरीको प्रयोगमा रहे पनि यो सम्पूर्ण नागरिकको सम्पत्ति भएको स्पष्ट पारे। ‘हाम्रो प्रहरी, नेपाल प्रहरी’ भन्ने भावनालाई सबैले आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए।
शिलान्यास कार्यक्रममा प्रहरी वृत्त सातदोबाटोकी प्रमुख प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्द ले शान्ति सुरक्षा कायम गर्नदेखि भवन निर्माण सम्पन्न गर्नसम्म सबै पक्षको सहयोग अपरिहार्य रहेको बताइन्। समयमै भवन निर्माण सम्पन्न गर्न स्थानीयको निरन्तर सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।
कार्यक्रममा इन्स्पेक्टर विक्रम केसी, वडा नं. ३ का वडा अध्यक्ष सानुराज घिमिरे लगायत अन्य जनप्रतिनिधि, सबै राजनीतिक दलका प्रतिनिधि, आमासमूह, गुठी तथा क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ