काठमाडौं : सुरक्षा निकायसम्वद्ध विभागीय टोलीमा रहेका राष्ट्रिय खेलाडीलाई निकट भविष्यमा हुने भनिएको स्थानीय निकायको चुनावमा खटाएको छ । वैशाख ३१ गते हुने भनिएको स्थानीय निकायको चुनावको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलाडीलाई सुरक्षामा परिचालन गरेका हुन् । जनपथ र सशस्त्र प्रहरीले खेलाडीलाई चुनावमा परिचालनका लागि परिपत्र जारी गरिसकेको छ भने नेपाली सेनाले अहिलेसम्म निर्णय गरेको छैन ।
नेपाल प्रहरीको खेलकुद शाखा प्रमुख भरत शाहले पहिलो चरणको चुनावका लागि वैशाख १५ गतेदेखि फिल्डमा खटाउन परिपत्र गरिएको बताए । शाहले नेपाल प्रहरीमा करारसहित दुई सय १७ जना खेलाडी आबद्ध रहेको जानकारी दिए । ‘पहिलो चरणको चुनावका लागि खेलाडी खटाउन परिपत्र भएअनुसार खेलाडीलाई फिल्डमा खटाइसकिएको छ’, शाहले भने ।
नेपाल प्रहरीको खेलकुद समितिका एक उच्च अधिकारीले उनीहरू पहिले प्रहरी त्यसपछि मात्र खेलाडी भएकाले फिल्डमा खटाइएको बताए । ‘उनीहरू पहिले प्रहरी हुन् त्यसपछि मात्र खेलाडी । उनीहरूलाई संगठनले आफू अनुकूल परिचालन गर्न सक्छ’, ती अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अन्नपूर्ण पोस्ट्लाई बताए ।
सशस्त्र प्रहरीको एपीएफ क्लबमा संलग्न राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरीले आफूहरूलाई सोमबारदेखि फिल्डमा खटाइएको बताइन् ।
विभागीय टोलीले खेलाडीलाई चुनावी अभियानमा परिचालन गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गर्दै आएको राष्ट्रिय टिम तयारी भने प्रभावित बनेको छ । वार्षिक कार्यक्रमअनुसार गत फागुन २६ गतेदेखि सुरु भएको राष्ट्रिय टिम तयारीमा विभिन्न १२ वटा खेलका एक सय ८७ जना खेलाडीले दैनिक प्रशिक्षण गर्दै आएका छन् ।
आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र अर्को वर्ष इन्डोनेसियाको जार्कातामा आयोजना हुने एसियाली खेलकुदलाई लक्षित गरी सुरु गरिएको राष्ट्रिय टिम तयारीमा अधिकांश विभागीय टोलीका खेलाडी छन् । राष्ट्रिय टोलीमा त्रिभुवन आर्मी क्लबका ९३, नेपाल पुलिस क्लबका ५२ र एपीएफ क्लबका ३७ जना खेलाडीले प्रशिक्षण गरिरहेको जानकारी राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले दिए ।
राखेपका सदस्यसचिव केशवकुमार विष्टले राष्ट्रिय टोलीमा रहेर बन्द प्रशिक्षण गरिरहेका खेलाडीलाई फिल्डमा नपठाउन सम्बन्धित विभागहरूसँग पत्राचार गरिएको बताए । ‘राष्ट्रिय टोलीमा रहेका सुरक्षा निकायमा आबद्ध खेलाडीलाई निर्वाचन प्रयोजन र शान्ति सुरक्षा स्थापनाका लागि परिचालन गर्न लागेको खबर पाएको छु । देशका गौरव राष्ट्रिय खेलाडीलाई निर्वाचनमा खटाउँदा नियमित प्रशिक्षण प्रभावित हुने भएकाले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई नियमित प्रशिक्षणमा सहभागी गराइदिन आग्रह गरेको छु’, सदस्यसचिव विष्टले भने ।
राष्ट्रिय टिम तयारी समितिका संयोजक रानाभाटले पनि नियमित प्रशिक्षणलाई प्रभावित नपार्न आग्रह गर्दै सम्बन्धित विभागहरूमा पत्राचार गरिएको जानकारी दिए । ‘खेलाडीलाई फिल्डमा खटाउँदा राष्ट्रिय प्रशिक्षण प्रभावित हुने भएकाले चुनावी अभियानमा खेलाडी नखटाउन आग्रह गरेका छौं’, संयोजक रानाभाटले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--