सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

चौथो वीर गणेशमान खुल्ला किक बक्सिङ प्रतियोगिता चैत्र २६ देखि सुरु हुने

प्रकाशित समय: बिहिवार, ०८ : २८ बजे चैत्र १९ गते



चौथो वीर गणेशमान खुल्ला किक बक्सिङ प्रतियोगिता चैत्र २६ देखि सुरु हुने

ललितपुर,वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता यहि चैत्र २६ गतेदेखि ललितपुरको चापागाउँमा सुरु हुने भएको छ। 

किक बक्सिङ संघ, ललितपुरको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यसपटक नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग तथा ललितपुर किकबक्सिङ सङ्घको संयुक्त आयोजनामा शुरु हुन लागेको हो। ठूलो धनराशि पुरस्कार भएको प्रतियोगिता आगामी चैत २६, २७ र २८ गते चापागाउँको प्याङगाउँमा आयोजना हुने भएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले गर्नेछन् । पुरस्कार बितरण तथा समापन कार्यक्रमको प्रमुखअतिथि नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले बताए। 

तीन दिनसम्म चल्ने खुल्ला प्रतियोगितामा गत वर्षझैं नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी कराँते, तेक्वान्दो, बक्सिङ,उसु,क्युकोसिङ,थाइ,फुल कन्ट्याक्ट कराँते लगायतका टिम एवं खेलाडीले भाग लिने ललितपुर किक बक्सिङ सङ्घका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जनले बताए। 

प्रतियोगितामा प्रथम टिम च्याम्पियनलाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजारका दरले पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ। त्यस्तै प्रथम खेलाडी लाई ३० दोस्रोलाई १५ हजार र तेस्रो दुईजना खेलाडीहरूलाई ८/८हजारका दरले पुरस्कार वितरण गरिनेछ।त्यस्तै उत्कृष्ट महिला १ र पुरुष १ खेलाडीलाई २५/२५ हजारका दरले पुरस्कार वितरण गरिनेछ।