एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ ।
बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, “खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्न । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुशी साट्न प्रयत्न गरेका थियौं, तर अब आइपिएलमा सम्बद्ध सबै व्यक्ति आइपिएलका खेलबाट बिदा भएर आआफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।”
गत अप्रिल ९ बाट शुरु भएको यस वर्षको आइपिएलमा २९ वटा खेल भएका थिए । यी खेलहरु रङ्गशालामा दर्शक बिनै खेलाइएका थिए ।
भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहरले सिङ्गो स्वास्थ्य प्रणालीमाथि गम्भीर सङ्कट निम्त्याएको थियो ।
कोभिड–१९ बाट खेलाडी र खेल पदाधिकारी नै संक्रमित भएपछि सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको थियो ।
मङ्गलबार पनि चेन्नाई सुपर किङ्ग्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
भारतीय आइपिएलमा विश्वकै सर्वाधिक सफल क्रिकेट खेलाडीहरुले २०–२० क्रिकेट खेल्ने अवसर पाउने गर्दथे ।
गत वर्ष पनि कोभिड महामारीकै कारण यो प्रतियोगिता युनाइटेड अरब इमिरेट्समा खेलाइएको थियो ।
आइपिएलमा सहभागी खेलाडीहरुलाई स्वदेश फर्कन भने निकै कठिनाई हुने देखिएको छ खासगरी बेलायत र अस्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा अस्थायी रुपमा रोक लगाएपछि समस्या उत्पन्न भएको छ ।
यसैबीच, क्रिकेट अस्ट्रेलियाले भारतमा रहेका स्टिभ स्मिथ र डेभिड वार्नर समेतका आफ्ना खेलाडीहरुको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्न लागेको जनाएको छ ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्ला तीन महिनामा कोभिड संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।
भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दुई लाख २० हजार नाघिसकेको छ ।
कोभिड संक्रमण तिब्र गतिमा फैलिएको जनाउँदै गत साता अस्ट्रेलियाली खेलाडीहरु एन्ड्रु टाई, एडम जाम्पा र केन रिचार्डसनले आइपिएल परित्याग गरी स्वदेश फर्किएका थिए ।
त्यस्तै, रविचन्द्रन अश्विन र लियाम लिभिङस्टोनले पनि बीचमै आइपिएल छाडेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ