सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

आज २५६५औँ बुद्ध जयन्ती, दीप प्रज्वलन गरिँदै

प्रकाशित समय: बुधवार, १० : ५२ बजे जेठ १२ गते



आज २५६५औँ बुद्ध जयन्ती, दीप प्रज्वलन गरिँदै


काठमाडौं  । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । 

 

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । 

 

यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।

 

कोरोना महामारीका कारण यसपटक बुद्ध जन्मस्थलमा समेत कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन तर बुद्ध जन्मिनुभएको मायादेवी मन्दिरमा भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाहरुले पूजापाठ गर्ने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ । 

 

कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिनुभयो ।

 


कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरी पूजा र प्रार्थना गरिने कोषले जनाएको छ । 

 

आज साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको निर्वाण प्राप्तिको कामना गर्दै २५६५औँ दीप प्रज्वलन गरिने कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

 

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिनुभयो । 

 

यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट अशोकले इपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।