सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

निवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

प्रकाशित समय: शनिवार, ०७ : ३६ बजे जेठ १५ गते



निवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । 


विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा  मन्त्रालयका लागि उक्त रकम विनियोजन गर्नुभएको हो । यो रकम चालु आर्थिक वर्षका तुलनामा रु ३८ करोडले वृद्धि गरिएको हो । चालू आवमा मन्त्रालयलाई रु दुई अर्ब ३६ करोड बजेट विनियोजन गरिएको थियो । 


बजेटमा सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।


त्यस्तै मोरङको वैजनाथपुर, काठमाडौँको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।


त्यसैगरी झापाको दमकमा बन्ने मदन भण्डारी अन्तरराष्ट्रिय रंगशाला आगामी दुई वर्षभित्र सञ्चालनमा आउने गरी निर्माण गरिने  छ ।  यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम बजेटमा व्यवस्था गरिएको छ । 


 अन्तराष्ट्रियस्तरमा पदक हासिल गर्न सक्ने सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिने बजेटमा उल्लेख  छ । त्यस्तै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिने  जनाइएको छ ।