कञ्चनपुर, २८ साउन।कोरोना महामारीका कारण सुदूरपश्चिम प्रदेशमा क्रियाशिल सहकारीको कारोबार घटेको छ । वैशाख, जेठ र असार महिनासम्म जारी निषेधाज्ञाका कारण सहकारीले बचत सङ्कलन, ऋण प्रवाह र असुली गर्न पाएनन् ।
सहकारीको प्रमुख आधार नै बचत सङ्कलन गर्नु रहेको छ । निषेधाज्ञाका बेला बचत नै सङ्कलन हुन नसक्नु र बचत रहेको रकम पर्याप्त मात्रामा सहकारीले ऋण लगानी गर्न सकेका छैनन् । जसका कारण सहकारीमा तरता अभाव देखिन थालेको छ । कृषि दूग्ध कारोबारमा लगानी गरेका सहकारीले सावा र ब्याज उठाउन सकेका छैनन् । कृषि र दूग्धजन्य बस्तुले बजार नपाएपछि सहकारीबाट ऋण निकालेर लगानी गरेका किसानले सावा ब्याज तिर्न नसकेका हुन ।
अझै पनि कोरोनाको तेस्रो लहर आउने हल्लाले सहकारीबाट कर्जाको रकम जुन गतिमा लगानी हुनुपर्ने हो त्यो हुन सकेको छैन । व्यवसायी कर्जा लिन डराउन थालेका छन । सहकारीमा रकम बचत गर्ने क्रम भने जारी रहेको छ । बचत थुप्रिँदै जाने र कर्जा प्रवाह नहुने समस्या सहकारीले खेप्न थालेका छन ।सहकारीबाट ऋण लिएर कारोबार गरेकाको कारोबार नै ठप्प रहेपछि किस्ता बुझाउन नसक्दा भाखा नाघेको ऋणीको सङ्ख्यामा उल्लेख रुपमा वृद्धि भएको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्था झलारी कञ्चनपुरका कार्यकारी प्रमुख मदनराज भट्टले बताउनुभयो ।
“निषेधाज्ञाका बेला काम नगरी कर्मचारीलाई तलब दिनुप¥यो । घर भाडा तिर्नुप¥यो । लगानी गरिएको रकम नउठेपछि पर्याप्त मात्रामा लगानी गर्न पनि सकिएको छैन”, नवकिरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरी(कुश्मी)ले भन्नुभयो, “सहकारी संस्था खुले पनि संस्था लामो समयसम्म बन्द गर्नुपर्दाको असर अझै कायमै छ ।” सुदूरपश्चिम प्रदेश वचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष माधवप्रसाद जोशीका अनुसार कोरोनाका कारण गरिएको निषेधाज्ञाबाट प्रदेशका नौवटै जिल्लामा सञ्चालित सहकारी संस्थाले तीन महिनाको अवधिमै रु २० करोड बढी घाटा व्यहोरेका छन ।
“निषेधाज्ञाले गर्दा सहकारीले लगानी गरेको रकमको ब्याज असुल गर्न पाएनन् । रकम लगानी गरेर कृषि, पशुपक्षी पालनमा लागेकाको व्यवसायनै चौपट भयो”, उहाँले भन्नुभयो, “उत्पादित कृषिजन्य बस्तु बजारमा बिक्री हुन नसकेपछि सहकारीबाट लिएको ऋणको किस्ता र ब्याज बुझाउन सकेका छैनन् । उपभोक्ता सहकारीले सञ्चालन गरेको सुपथ मूल्यका पसल बन्द हुँदा निकै नोक्सानी भएको छ ।” प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये पाँच लाख ४२ हजार ९८९ जना सहकारीमा आबद्ध रहेका छन । जसमा महिला सदस्य तीन लाख १९ हजार १०० र पुरुष सदस्य दुई लाख २३ हजार ८८९ रहेका छन । सहकारीको कुल पुँजी रु दुई अर्ब १५ करोड ८७ हजार ७९७ रहेको छ ।
कूल बचत सङ्कलन रु १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९४१ रहेको छ । कूल ऋण लगानी रु ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३३१ रहेको छ । सहकारीबाट प्रत्यक्ष रुपमा दुई हजार ८१५ जनाले रोजगारी पाएका छन् । स्थानीय तहमा मात्रै क्रियाशिल सहकारी संस्थाको सङ्ख्या एक हजार ७३१ तथा प्रदेशमा मात्रै क्रियाशिल सहकारीको सङ्ख्या ३२९ रहेका छन् ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ