सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

कवि रत्न बिरही घिमिरेको छन्द कविता संग्रह "सङ्कल्प" सार्वजनिक

प्रकाशित समय: बुधवार, ०४ : २५ बजे कार्तिक १ गते



कवि रत्न बिरही घिमिरेको छन्द कविता संग्रह

कार्तिक १ ललितपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्तिको अवसरमा साहित्यकार कवि रत्न बिरही घिमिरेको छन्द कविता संग्रह सङ्कल्प सार्वजनिक गरिएको छ। सुनगाभा साहित्य सदन ललितपुरले आयोजना गरेको कवितासंग्रहको लोकार्पण तथा श्रष्टा सम्मान कार्यक्रममा कवि तथा साहित्यकार रत्न घिमिरेको कविता संग्रह सङ्कल्प लोकार्पण गरिएको हो।

कार्यक्रमका सभापति गोविन्द पराजुली बृहत महाकाव्यका रचनाकार कवि चन्द्रप्रसाद न्यौपाने लेखकका माता मीनकुमारी पिता रिन्द्र प्रसाद घिमिरे गुरु इन्द्रमणि दहाल लगायत अतिथिज्यूहरु ले सयुक्तरुपमा लोकार्पण गर्नुभएको हो।

महांकाल गाँउपालिका वडा नम्बर ५ चन्दनपुर निवासी मीनकुमारी रिन्द्र प्रसाद घिमिरे बाट २०३१ साल साउन ११ गते जन्मिनुभएका रत्न बिरही नेपाली कविता काव्य लेखनमा निकै अगाडि हुनुहुन्छ। पेशाले सरकारी विद्यालयमा अध्यापन गराउदै आउनुभएका विरहीको पहिलो कृति सहारा {उपन्यास २०६३} मा प्रकाशन भएको थियो।

त्यसपछि क्रमश बेमौसमी बाजा {गजल सँग्रह २०७०} स्मृतिका पानाहरुमा सुजाता {२०७०} लगायत थुप्रै साहित्यिक कृतिहरु प्रकाशित भइसकेका छन्। भने कति प्रकाशन हुने चरणमा छन्। आफ्नो अध्यापन भाईको समय नेपाली भाषा साहित्यमा खर्चने गरेका घिमिरे हिमशिखर साहित्य सम्मान {२०६५} सहकारी विषय कविता प्रतियोगिता प्रथम पुरुस्कार {२०६९} तथा सुनगाभा साहित्य सम्मान {२०७३} बाट सम्मानित भइसक्नुभएको छ।

संकल्प कवितासंग्रह उहाँकी धर्मपत्नी सिता दाहाल घिमिरेको प्रकाशनमा प्रकाशित भएको हो। शब्दघर छापाखाना बागबजारले मुद्रण गरेको कविता सङ्ग्रहमा ६१ वटा कविता सङ्ग्रह प्रकाशित छन्। सुनगाभा साहित्य सदन लिए वितरणको जिम्मा पाएको संकल्प कविता संग्रहको कृतिको मूल्य रु.२०१/- कायम गरिएको छ।

पुस्तक विमोचन सकिएलगत्तै सुनगाभा साहित्य सम्मान प्रदान गरिएको थियो।

सुनगाभा साहित्य सदनले प्रत्येक वर्ष साहित्यिक क्षेत्रमा क्रियाशील रहने साहित्यिक स्रष्टालाई सम्मान गर्दै आएकोमा यसवर्ष महांकाल गाँउपालिका वडा नम्बर ३ गोटीखेल निबासी सर्जक किरण दुलाललाई नगद रु पाँच हजार र सम्मान पत्रले सम्मान गरेको हो।

उक्त कार्यक्रममा संकल्प कविता संग्रहबाट रत्न बिरही घिमिरेले( यस्तै भन्छन्, सिता दाहाल घिमिरे -फुट्दै छ नेपाल यो, सावित्री न्यौपाने-चेलीको बिदाइ, शिव घिमिरे-फर्केर आऊ घर, रामप्रसाद घिमिरे-तिमी कस्तो मान्छे, पुनम घिमिरे-प्रणाम छ कृति वाचन गर्नुभयो।

कार्यक्रममा कवि तथा गजलकारहरु प्रोल्लास सिन्धुलिया, गोपाल संजेल, वशिष्ठ अधिकारी, राजु घिमिरे, जयराम दाहाल, सुभद्रा घिमिरे, शुष्मा मानन्धर लगायतले आफ्नो साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम प्रस्तुत तथा संचालन साहित्यकार तथा सुनगाभा साहित्य सदनका कोषाध्यक्ष रामसुन्दर केसीले कार्यक्रमको अन्त्य सम्म लगनखेलको बार हललाई साहित्यमय बनाउनु भएको थियो ।