सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

निर्वाचनले छेकेन विकासलाई,डाँडापारी सडक निमार्णमा नेपाली सेनाको सहयोग

प्रकाशित समय: सोमवार, ०९ : १४ बजे मंसिर ४ गते



निर्वाचनले छेकेन विकासलाई,डाँडापारी सडक निमार्णमा नेपाली सेनाको सहयोग

नवराज सापकोटा ,काभ्रे । आसन्न निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सबै तिर नेता कार्यकर्ताहरु चुनावी कार्यक्रम गरी भोट माग्न व्यस्त छन् । तर क्षेत्र नं २ अन्र्तगत पर्ने बेथाञ्चोक १ का बासिन्दा भने यति खेर गाउँमा मोटर पुर्याउन कस्सिएर लागेका छन् । खोपासी, ढुंखर्क, च्याम्राङवेसी, मिल्चे बोराङ सडकको च्याम्राङबेसी देखि मिल्चे जाने सडक निमार्ण कार्य तिव्ररुपमा अघि बढेको छ । सडक खण्डमा विशाल चट्टान युक्त पहरो फेला परेपछि बाटो निर्माणमा अबरोध महसुस गरेका स्थानीय दुखित बनेका थिए ।

 

तर उक्त पहरो फोर्नका लागि नेपाली सेनाले प्राविधिक सहयोग उपलब्ध गराएर पहरो विस्फोट गर्न थाले पछि अहिले स्थानिय मोटरबाटो निमार्णमा स्थानीय जुटेका हुन् । २ महिना अघि देखि नेपाली सेनालाई अनुरोध गर्यौं । आवश्यक लागत खर्च उपभोक्ता समितले व्यवस्थापन गर्ने गरी विष्णुदल गण धुलिखेलले आवश्यक प्रविधिक सहयोग उपलब्ध गराए पछि निमार्णकार्यले निरन्तरता पाएको अनुगामन तथा मूल्यांङ्कन समितिका अध्यक्ष नेत्र प्रसाद दाहालले बताए ।

 

यस कार्यका लागि गणपति रामहरि के.सीबाट राम्रो सहयोग पायौ । सडक निमार्णका लागि हामी निरन्तर लागेको छौ । सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यो पटक हामी यस सडक खण्डको साविक च्याम्राङवेसी अन्र्तगतको भूभाग पूरा गरेरै छाड्छौ उनको भनाई थियो । राजनीतिक रुपमा काग्रेसले चुनावी रणनीति बनायो भन्ने आरोप सुनिए पनि स्थानीय विकासका लागि कसैले राजनीतिक विषय नबनाएको उपभोक्ता समितिका अध्यक्ष रुपेस पाख्रिनले बताए ।

 

यो पुरानै कार्यको निरन्तरता हो स्थानीय सबै दलका मानिसक उत्तिकै सक्रिय छन् । सबैको साथ र सहयोग छ । यस क्षेत्रको निर्वतमान सभासद कञ्चनचन्द्रवादेको निरन्तर सहयोग छ ।

 

उनले पटक पटक ,संसदीय विकास कोषको रकम यस सडकमा खर्चिएका छन् । गाउँपालिका तथा स्थानीयको मिहिनेत त्यतिकै छ । यस बाट नै यो कार्य सम्भव भएको हो । यति खेर हामी निर्वाचन, अन्य कार्यक्रम भन्दा पनि कसरी यो बाटोलाई निर्माण सम्पन्न गर्ने भन्ने तर्फ लागेको उनले बताए । सेनाले सडक निमार्ण आरम्भ गर्नु अघि विष्णुदल गणका गणपति कर्नेल रामहरि के.सी स्वयम् उपस्थित भएका थिए ।

 

जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको डाँडापारी क्षेत्रका नागरिकको आर्थिक सामाजिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने उक्त सडकमार्ग निमार्णमा नेपाली सेनाले निरन्तर आवश्यक सहयोग गर्ने उनको भनाई थियो । सम्भावना भएको क्षेत्रकालागी महत्पूर्ण सडकको रुपमा यसलाई लिएको छु । उपत्यका बाट गौर जोडने सडकको विकल्पमा यो सडक लिन सकिन्छ । त्यसैले यो सडक सम्पन्न भए पछि काभ्रेलाई थप सहयोग पुग्ने निवर्तमान सभासद कञ्चन चन्द्रवादेको दावी छ ।

 

उक्त सडक निमार्णको क्रम सँगै स्तरोन्नतीको कार्य समेत अघि बढि सकेको छ । चलाल देखि १४ किलो मिटर क्षेत्र स्तरोन्नतीको काम भइरहेको छ जसमा ५.८ किलोमिटर कठिन क्षेत्र कालो पत्रे हुन्छ र अन्य क्षेत्रमा ग्राभेल गरिने छ । थप ११ किलो मिटर क्षेत्रमा निर्वाचन पछि लगतै टेण्डर खोलिने उनको भनाइ थियो ।

 

अहिले उक्त सडकको कलङसिङ क्षेत्रमा सडक निर्माण कार्य भइरहेको छ । ब्रेकरको साहायताले समेत उक्त पहरो फुटाउन नसकेपछि नेपाली सेनाको सहयोग लिनु परेको बेथाञ्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । हाम्रो गाउँपलिकाको सबै भन्दा पहिलो प्राथमिकता सबै वडाका सबै क्षेत्रमा बाटो पुर्याउने हो ।

 

त्यसमा पनि यो सडकको छुट्टै महत्व छ । उक्त बाटो निमार्ण हुँदा गाउँपालिाकाका सबै वडामा सडक सुविधा उपलब्ध हुन्छ । हामीले मुख्य प्राथमिकता दिएर उक्त सडक निर्माण गर्न लागेका हौ उनको भनाइ थियो । हरेक बर्ष निरन्तर बाटो निमार्ण गरिँदै आइएको भएपनि विशाल चट्टानले उक्त बाटो निमार्ण अवरुद्ध भएको थियो । अहिले नेपाली सेनाले उक्त सडकखण्डको चट्टान विष्फोटन गरी बाटो निर्माण गर्न सहयोग गरिरहेको छ ।

 

यस अघि नै संसदीय विकास कोषको रकम, साविकको च्याम्राङवेसी गा.वि सको विकास बजेट तथा स्थानीयको ऋण स्वरुप नीजि लगानीमा ललितपुर हुँदै सुकम झिङ्गेबाट उक्त सडक खण्डमा जोडिने गरी बाटो निर्माण भइ सकेको छ । करिब १ किलोमिटर क्षेत्र सडक निमार्ण पछि पुरानो ट्रयाकमा सडक जोडिने र त्यस पछि झिङ्गे डाँडा सम्म बाटो संचालन हुने बेथाञ्चोक वडा नं १ का वडा अध्यक्ष सोम प्रसाद घिमिरेको भनाई छ ।

 

समाजको मुख्य आवश्यकता भनेको नै विकास हो । हामीले जहाँबाट साथ सहयोग पाउनुपर्ने हो पाएकै छौ । हाम्रा लागि चुनाव भन्दा पनि विकास प्यारो छ,त्यसैले चुनाव,घरको काम छाडेर सबै जना सडक निर्माणमा जुटेको वडा दस्य गोपालकृष्ण सापकोटा स्थानिय बताउँछन् । उक्त सडक निमार्ण पछि यस भेगका बासिन्दाले कृषि लगाएतका क्षेत्रबाट थप आयअर्जन गर्न सकिने भएकोले जसरी पनि उक्त सडक खण्ड पुरा गराएरै छाडने उनको भनाई छ ।