सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

प्रकाशित समय: सोमवार, ११ : ३१ बजे कार्तिक १ गते



साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

काठमाडौं, १ कात्तिक । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । 

नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारी लगायतले भव्य स्वागत गरे ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताई भने फाइनल अघि नै  राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन् । यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् । यसअघि रोहित जाकार्ताबाट सिधै माल्दिभ्स पुगेका थिए । 

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले हराएको थियो । यस्तै भारतसँग १-० ले  पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।