काठमाडौं, ३ कात्तिक।अभिनेता खगेन्द्र लामिछानेलाई उनकै लेखन रहेको फिल्म 'पशुपति प्रसाद' ले दर्शकमाझ लोकप्रिय बनायो । 'बधशाला' मार्फत अभिनयमा उदाएका खगेन्द्रले त्यसअघि नै 'टुल्के' परिचय बनाइसकेका थिए । 'टलकजंग भर्सेस टुल्के' मा अभिनय गरेपछि उनले 'टुल्के' उपनाम पाएका थिए ।
पछिल्लो समय उनी आफूलाई निर्देशकको रूपमा उभ्याउँदैछन् । उनले निर्देशन गरेकाे 'पानीफोटो' रिलिजकाे तयारीमा छ । निर्देशनसँगै फिल्ममा उनकाे अभिनय पनि देख्न पाइनेछ ।कोरोनाभाइरसको महामारीपछि सिर्जित अवस्थाका कारण उनको फिल्म प्रदर्शनमा ढिलाइ भएको छ । उनले आफै लिखित नाटकलाई फिल्मको स्वरूप दिएर 'पानीफोटो' दर्शकमाझ ल्याउँदैछन् । ‘मेरो सपना नै थियो कि यसलाई फिल्म बनाउने, किनकि म यो कथालाई धेरै दर्शकमाझ पुर्याउन चाहन्छु,’ उनले भने, ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ ।’
लामिछानेले फिल्ममा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउन खाेजेका छन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै कथामा निर्माण हुन लागेको हो ।अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झना पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरूलाई सदुपयोग गरी इमान्दारीपूर्वक ‘पानीफोटो’ ल्याउने बताए ।'द्वन्द्वले हामीलाई क्षति नै पुर्याएको थियो, त्यसैले फेरि त्यो हुनुहुन्न भन्ने मान्यताका साथ फिल्म बनाउने प्रयास गर्ने छु,’ उनले भने । उनले यो समय द्वन्द्वकाे कथा भन्ने समय रहेको प्रतिक्रियासमेत दिए । ‘त्यो समयमा द्वन्द्वको प्रभाव थियो त्यसैले हामीले केहीभन्दा एक पक्षलाई राम्रो र अर्कोलाई नराम्रो स्वत लाग्थ्यो, तर अब सबैले बुझेका छन् र हामीले नयाँ पुस्तालाई बुझाउनु छ,’ खगेन्द्रले भने ।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा तयार फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, श्यामकुमार खड्कालगायतका कलाकारको अभिनय रहेको छ ।
पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्मलाई दर्शकमाझ ल्याउने तयारीमा खगेन्द्र छन् । अभिनेताको रूपमा दर्शकको मन जितेका खगेन्द्र निर्देशनमा के हुन्छन् ? यो भने आउँदो समयले नै बताउनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ