सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

महाङ्काल गाउँपालिकामा औषधिको अभाव, गाउँपालिका मौन

प्रकाशित समय: मगलवार, ०७ : १३ बजे कार्तिक २३ गते



महाङ्काल गाउँपालिकामा औषधिको अभाव, गाउँपालिका मौन

ललितपुर,ललितपुरको महांकाल गाउँपालिकामा औषधिको हाहाकार हुन थालेको छ। गाउँपालिका अन्तर्गत रहेका ५ स्वास्थ्यचौकी र १ मानिखेल अस्पताल रहेका छन्। गाउँपालिकाले समयमा नै औषधि खरिद नगर्दा औषधीको हाहाकार हुन पुगेको हो। समयमा औषधि खरिद नगर्दा नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ३५ किसिमका औषधिको समेत हाहाकार हुन पुगेको छ। स्थानीय सरकारले नै खरिद गर्न पाउने गरी सशर्त अनुदान मार्फत केन्द्रीय सरकारले १४ लाख गाउँपालिकालाई बजेट छुट्याएको थियो। तर पाँच महिना पुगिसक्दा समेत औषधि खरिदमा कुनै चासो दिएको देखिँदैन। औषधि मौज्दात नहुँदा सेवाग्राही सेवा नलिई फर्कनुपर्ने अवस्थामा पुगेको छ।

 

कालेश्वर स्वास्थ्यचौकीका प्रमुख सुर्य श्रेष्ठका अनुसार स्वास्थ्य चौकीका लागि गाउँपालिकाको स्वास्थ्य शाखामा औषधि माग गर्दा मौज्दातमा औषधि नरहेको र खरिद प्रक्रियामा रहेको जवाफ आउने गरेको बताए। उनका अनुसार न्युनतम मौजाद नभएका Paracetamole , Amoxycilline, Ibrufen औषधि रहेको बताए। Aceloc, iron ,calcium,vitamin b complex लगायतका औषधि भने १ महिनादेखि नै स्वास्थ्य चौकीमा नभएको उनले बताए।

 

मानिखेल अस्पतालका प्रमुख अमिर बर्तौलाले गाउँपालिका भित्रको पालिका स्तरीय अस्पताल भएपनि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले तोकेको मापदण्डको २०/२५ प्रतिशत मात्र अस्पतालमा सुविधा रहेको बताए। कोभिडको संक्रमणकालीन अवस्थामा यस अस्पतालबाट करिब १०० कोभिड बिरामीको उपचार गरेको बताउँदै अस्पताल प्रमुख बर्तौलाले कोभिड उपचार गर्ने अस्पताललाई केन्द्रीय सरकार उपलब्ध गराउने सहयोग रकम उपलब्ध नहुँदा समस्या आएको बताए। उनले विभिन्न प्रकारका औषधि खरिदका लागि गाउँपालिकाबाट १० लाख बजेट विनियोजन भएको र सोही रकमबाट औषधि खरिद गरी अस्पताल सञ्चालन गरिरहेको तर नेपाल सरकारले तोकेका अस्पतालबाट निःशुल्करुपमा प्राप्त हुने ७० भन्दा बढी प्रकारका औषधि खरिद गर्ने अधिकार अस्पताललाई नरहेकाले औषधिको अभाव हुन पुगेको उनले बताए।

 

बुखेल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर १ बुखेलका वडा अध्यक्ष खोमप्रसाद गौतमले स्वास्थ्य चौकीमा औषधि अभाव भए स्वास्थ्य चौकीको आन्तरिक कोषबाट औषधि खरिद गरेर भएपनि अभाव पूर्ति गर्नुपर्ने बताए।

 

ठूलादुर्लुङ स्वास्थ्यचौकीका पूर्व स्वास्थ्य प्रमुख समेत रहेका वडा नम्बर ६ नेपाली कांग्रेसका इकाइ सभापति विनोद चौरेलले गाउँपालिकाका अध्यक्षले आठौं गाउँसभामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भनेर भाषण गरेपनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपेक्षामा हुनु ,योजना तथा पूर्वाधार एवं औषधि खरिद लाई प्राथमिकतामा नराख्नु लज्जास्पद कुरा भएको बताए। उनले स्वास्थ्य शाखामा अनुभवी भन्दा पनि स्वास्थ्य क्षेत्रलाई नबुझेका व्यक्तिलाई शाखा प्रमुख बनाउनुले पनि स्वास्थ क्षेत्रमा यो लापरवाही भएको बताए।

 

पालिकाका स्वास्थ्य शाखाका प्रमुख तिर्थ बोहोराका अनुसार आन्तरिक कारण औषधि खरिदमा ढिलाइ भएको स्विकार गरे । उनले स्वास्थ्यचौकीमा औषधि उपलब्ध गराउन केही हप्ता ढिला भएको, अबका केही दिनभित्रै अभाव रहेका सम्पुर्ण औषधी उपलब्ध गराउने बताए।