सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी    

प्रकाशित समय: सोमवार, ०२ : २८ बजे मंसिर १३ गते



कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी    

काठमाडौँ, १३ मङ्सिर।कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।     
     
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिनुभयो । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा अधिकारीले भन्नुभयो, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।”     
     
 उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ ।यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति दु्रतगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकीे छ ।रासस