सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

जलविद्युतमा मागभन्दा बढी सेयर आवेदन

प्रकाशित समय: आइतवार, ०१ : ५४ बजे माघ २८ गते



जलविद्युतमा मागभन्दा बढी सेयर आवेदन

इलाम — पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले आहवान गरेको सेयरमा आवश्यकभन्दा करिब पाँच गुणा बढी रकम जम्मा भएको छ। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका लागि खुलाइएको सेयरमा ५० करोड रुपैयाँ संकलन भएको छ ।

 

गत माघ ५ देखि २३ गतेसम्म सेयर आहवान गरिएको थियो। त्यस क्रममा आवश्यकभन्दा बढी रकम जम्मा भएको हो। सन्दकपुरमा सञ्चालित हाइड्रोले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता सेयर निष्कासन गरेकामा ५० करोड रुपैयाँ रकम जम्मा भएको हो।

 

हाइड्रोले अति प्रभावित र प्रभावित छुटयाउँदै सेयर माग गरेको थियो। अति प्रभावित भन्दै सन्दकपुरका लागि ६ करोड ६० लाख रुपैयाँ बराबरको छ लाख ६० हजार कित्ता सेयर निस्कासन गरेको हो। त्यस्तै प्रभावितका रूपमा इलाम नगरपालिकामा ४ करोड ४० लाख रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता सेयर आहवान गरेको थियो। ‘दुवै क्षेत्रबाट उत्साहजनक ढंगले सेयर हालिएको छ,' हाइड्रो पावरका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले भने। सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा साढे २ गुणा बढी सेयर रकम संकलन भएको छ।

 

त्यस गाउँपालिकामा १७ करोड रुपैयाँ रकम जम्मा भएको हो। यस्तै, इलामनगरपालिकामा ३३ करोड रुपैयाँ सेयर रकम संकलन भएको छ। हाइड्रोले सरदमुकामका सनराइज, प्रभु र लक्ष्मी बैंकसहित सन्दकपुरको कार्यालय र माबुस्थित हाइड्रोको कार्यालयबाट सेयर रकम संकलन गरेको थियो।

 

सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको थियो। कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा, जमुना र सुलुबुङमा १२ मेगावाट र ६ दशमलव १ मेगावाटको क्यासकेट आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको छ।