सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

दक्षिण अफ्रिकामा नयाँ राष्ट्रपति नियुक्त

प्रकाशित समय: शुक्रवार, ११ : ०३ बजे फाल्गुन ४ गते



दक्षिण अफ्रिकामा नयाँ राष्ट्रपति नियुक्त
कप्ट टाउनः दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको छ । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताउनु भयो । धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उहाँको भनाई थियो । रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसअघि आफ्नै दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो । सत्तारूढ अफ्रिकन नेशनल कँग्रेस (एएनसी) ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो । सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो । सन् २००९ देखि सत्तामा रहनु भएका जुमालाई भ्रष्टाचारसहितका कैयौँ आरोपहरू लाग्दै आएको थियो । नवनियुक्त राष्ट्रपति रामाफोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गर्नुभएको छ । दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष हुनुहुन्थ्यो ।