अनमोल केसी अभिनीत कृ फिल्मले ६ दिनमा देशभरका हलबाट कुल ५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । फिल्म निर्माता सुवास गिरीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कृको ६ दिनको कमाइ सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्माता गिरीले आफूले कृको ‘ओभरसिज राइट' ८० लाखमा बेचेको र विभिन्न ब्रान्डको स्पोन्सरबाट ५० लाख रुपैयाँ आर्जन गरेको जानकारी दिए ।
उनले कृमा तीन करोड ८० लाख रुपैयाँ लगानी लागेको र अहिलेसम्मको व्यापारबाट लगानी सुरक्षित भइरहेको दाबी गरे । ‘विदेश राइट, ब्रान्ड स्पोन्सर तथा ६ दिनको व्यापारबाट कृको लगानी सुरक्षित भइसकेको छ,' निर्माता गिरीले भने, ‘अब हुने व्यापार सबै नाफा हो ।' उनले कृ शुक्रबारदेखि देशभरका झन्डै ८० हलमा दोस्रो सातामा प्रवेश गरेको जानकारी दिए ।
कृका अर्का निर्माता भुवन केसीले महँगो रकम लगाएर गुणस्तरीय फिल्म निर्माण गरिएको भन्दै कृले अक्षयकुमार स्टारर हिन्दी फिल्म प्याडम्यानलाई पछारेको दाबी गरे । कृका निर्देशक सुरेन्द्रले आफूहरूको मिहिनेतले फल पाएको भन्दै खुसी प्रकट गरे । दोस्रो सातामा पनि केही सार्वजनिक बिदा परेकाले कृको व्यापार अझ राम्रो हुने विश्वास निर्माण पक्षको छ । फिल्ममा अनमोलका साथमा अदिति बुढाथोकी, सरोज खनाल, रूपा राना, अनुपविक्रम शाहीलगायतले अभिनय गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ