सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

उच्च शोहरुका साथ 'कठपुतली' रिलिज, शुक्रबारको व्यापार उत्साहजनक

प्रकाशित समय: शुक्रवार, ०२ : ४४ बजे पुष १६ गते



उच्च शोहरुका साथ 'कठपुतली' रिलिज, शुक्रबारको व्यापार उत्साहजनक

काठमाडौं, १६ पुस।नेपालमा चुनौतीपूर्ण जनरा मानिएको हरर जनरामा निर्माण भएको चलचित्र ‘कठपुतली’ शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । बुधवार राजधानीमा भएको प्रिमियरमा चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्रले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । हलिउड फिल्म  'स्पाइडर म्यान' र दक्षिण भारतीय फिल्म 'पुष्पा'को आक्रामक व्यापारको बावजुद पनि मल्टिप्लेक्स हलहरुले राम्रो शोहरु दिएका छन्।

 

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि चलचित्रले राम्रो शो पाएको छ । देशभरका मल्टीप्लेक्सहरुमा शुक्रवारको बुकिङ राम्रो रहेकाले शनिवारबाट शोमा बुद्धि हुने फिल्मका बजार व्यवस्थापक सागर खरेलले बताए ।

 

प्रदर्शनभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको दुईवटा ट्रेलरले दर्शकमा चलचित्रप्रति कौतुहलता जगाएको थियो । मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।

 

अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले चलचित्र खिचेका हुन् । चलचित्रले राजाहरुको शासन कालमा महिलामाथि हुने दमन र त्यसको प्रतिफलको कथा भनेको छ । चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् । बुधवार राजधानीमा भएको चलचित्रको प्रिमियरमा उपस्थित अधिकांश चलचित्रकर्मीले छायांकनदेखि कलाकारको अभिनयसम्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।