सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

एजजिओले गर्ने भए स्वास्थ्य संस्था पुननिर्माण

प्रकाशित समय: बुधवार, ०७ : ३० बजे चैत्र ७ गते



एजजिओले गर्ने भए स्वास्थ्य संस्था पुननिर्माण

कोशीपारि(काभ्रे) । भुकम्पका कारण क्षति पुगेका स्वास्थ्य संस्थाहरुको पुनः निर्माणकार्यले तिव्रता पाएको छ ।

 

भूकम्प गएर लामो समय पछि मात्र पुन निर्माण कार्यले गति लिएको हो । क्षति पुगे लगतै एनजिओहरुले निर्माण गरिदिएका अस्थायी प्रकृतिका भवन बाट सेवा दिँदै आएका स्वस्थ्य संस्थाहरुको पुनःनिर्माणमा पनि एनजिओकै भर पुर्नपरेको देखिएको छ ।

 

टिडिएचको आर्थिक सहयोगमा क्रिडाक नेपालले जिल्लाको विकट कोशीपारीका स्वास्थ्य संस्थाको भवन निर्माण गरिदिन लागेको हो ।

 

१४ करोड भन्दा बढी रकममा जिल्लाका सात स्वास्थ्य संस्था पुन निर्माण सुरु गरिएको जिल्ला संयोजक राजन भुर्तेलले जानकारी दिए ।

 

भुम्लु गाउँपालिका–८ को भुम्लुटार तथा कोशीपारीको चौरीदेउराली गाउँपालिका–३ को माझिफेदा स्वास्थ्य चौकीकोको शिल्यान्यास भएको छ । बिहीबार भुम्लुटारको स्वास्थ्य चौकी शिलान्यास गदै सांसद गोकुल बास्कोटाले समय मै काम नसक्ने तथा गुणस्तरहिन काम गर्ने जोसुकै भएपनि नछाड्ने बताए ।

 

उनले आफ्नो लागि बन्न लागेको स्वास्थ्यको भवनको गुणस्तरमा ख्याल राख्न स्थानीयलाई आग्रह गरे । विदेशीलाई भनेर भवन बनाउनुपर्ने हाम्रो बाध्यता छ, तपाईहरुले हाम्रो होइन भनेर नभन्नुहोला, भवन हाम्रो हो, स्वास्थ्य पनि हाम्रो हो, सबैले मिलेर छिटो बनाउन थालौ । उनको भनाई थियो ।

 

त्यस अवसरमा गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य चौकीहरुमा कर्मचारी अभाव भएको जानकारी दिए । माझि फेदा स्वास्थ्य चौकीको शिलान्यास गर्दै प्रदेश सांसद रत्न ढकालले आधारभूत उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भएको बताए । उनले ५ बर्षभित्रमा हरेक नागरिकलाई स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, सञ्चार लगायतको सेवा सरल र सुलभ उपलब्ध गराउने सरकारको तयारी रहेको बताए ।

 

शिलान्यास कार्यक्रममा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक प्रणय उपाध्यायले ३१ जिल्लामा १२ सय स्वास्थ्य संस्था पूर्ण क्षति भएको जानकारी दिए । उनले ५ बर्षमा सक्ने गरि स्वास्थ्य चौकीको विभिन्न संघ संस्थाको सहयोगमा पुन निर्माण भइरहेको जानकारी दिनुहुदै ५सय ४५ वटा पुननिर्माण सकिएको बताए ।

 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेन्द्र प्रसाद चौरासियाले विभिन्न संघ संस्थाहरुको सहयोगमा जिल्लाका स्वास्थ्य चौकीहरु पुन निर्माण थालिएको बताए ।

 

जिल्लाका ८५ स्वास्थ्य चौकी, ४ प्राथमिक स्वास्थ्य केन्द्र, ३ उपस्वास्थ्य चौकी, एक अस्पताल र ७ नगर स्वास्थ्य केन्द्र गरी ९३ इकाइ मध्ये ८१ वटा स्वास्थ्य केन्द्र पुर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएको तथ्यांङ्क प्रस्तुत गर्दै ती मध्ये अनेकोट, दोलालघाट, वालुवापाटी, होक्से र देविटार स्वास्थ्य चौकी दाताको सहयोगमा प्रिफेवको संरचना बनेर सेवा दिइरहेको बताए ।

 

भवन निर्माण आर्थिक सहयोग उपलब्ध गराउने टिडिएचका निर्माण बिशेषज्ञ एन्ड्रियाज बोल्डले सन २०१८ भित्रमा भवन नेपाल सरकारलाई हस्तान्तरण गरिसक्ने जानकारी गराए ।

 

ओपीडि, बर्थिङ सेन्टर, स्वास्थ्य कर्मीलाई आवास सहितको सुविधा सम्पन्न भवन बन्ने उनको भनाई थियो ।

 

जिल्लाका गैरसरकारी संस्थाले सन् २०१८ सम्ममा निर्माण सकाउने प्रतिवद्धता सहित पुन निर्माण जिम्मा लिएका भएपनि अधिकासंले अझै सुरुवात गर्न सकेका छैनन ।

 

स्वास्थ्य कार्यालयका अनुसार युनिसेफले १०, रेडक्रसले १२, आड्राले ४ र टेरे डेस होमले ४ वटा भूकम्प प्रतिरोधि भवन निर्माण गरिदिने सम्झौता गरेपनि शुरु नगरेको जनाएको छ ।