काठमाडौँ, ११ माघ.
आकाश खसोस, धर्ती फाटोस्
घाम रोकियोस् चाहे जुन रोकियोस्
तर हाम्रो माया…कहिलै नफाटोस्…
गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मियता कै खोजीका क्रममा बाँधिएका हुन्छन् । यस गीतले पनि यस्तै प्रेमको परिभाषा बोल्छ ।
मन मिल्ने साथी भेटिएपछि उनीहरु त्यो साथ कहिल्यै टुटाउन चाहँदैनन् । समातिएको एक अर्काको हात आपसबाट कहिल्यै छुटाउन चाहँदैनन्,चाहे त्यो बेलामा जस्तोसुकै विपत्ति किन नआओस् । यही भाव गीतका शब्दले खोल्छ ।
कति घुमे खण्डहर, भेटिन्छ कि रारा भनी
कति जागे रात भर, आकाशका तारा गनी
यस्तो त्याग तपस्याले, तिम्रो आधार खोजेको छु
जुनी जुनी साथै बस्न तिमीलाई नै रोजेको छु
जीवनको त्याग र तपस्यापछि भेटिएको मान्छेलाई आफूबाट टाढा राख्न नसकिने तर्क पनि गीतमार्फत अभिव्यक्त गरिएको छ । पहिलो मायाको पहिलो अनुभव सङ्गाल्ने भाका फुराएको गीतमा कलिलो माया गाँसिदाका अप्ठेरा अनि रमाइला पल समेटिएको छ ।
गीतकार थापा आजभोलि समाजमा स्वार्थ बढेको बताउनुहुन्छ । स्वार्थी प्रेममा युगल जोडी गाँजिएका र पछि विच्छेदका घटना बढ्दो छ । यसलाई रोक्नुपर्ने अभिभारा हाम्रो काँधमा छ भन्ने सोच पलायो । त्यही सिलसिलामा गीत तयार पारिएको उहाँले सुनाउनुभयो ।
“अनेकौं मोड छिचोलेर र कयौँ ठक्कर खाएर स्थापित प्रेमसम्बन्ध जोगाउन अहिले कठिन भइरहेको छ”, गीत लेखनको क्षण सम्झँदै थापाले सुनाउनुभयो,“ठूलो त्यागले जोडिएको सम्बन्ध नटुटोस्, हजारौंबाट छानेर भएको मिलन आकाश–धर्ती फाटे पनि फाट्नुहुन्न भन्ने कल्पना आयो, अनि शब्द ऊनँे ।”
प्रहरी निरीक्षक थापा कविता, कथालगायत साहित्य लेखनमा समेत रुचि राख्नुहुन्छ । थापाले यसपाली कलाकार (गीतकार) का रुपमा समेत आफ्नो परिचय फैलाउनुभयो ।
‘तिमीलाई नै’मा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर छ । केही अघि ‘इनाक्षी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । त्यसमा दीपकराज विश्वकर्माको सङगीत तथा निर्देशन रहेको छ । भिडियोमा गायक÷गायिका स्वयंको अभिनय छ । केशवराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको शृङ्गार र अमन बडूको छायाङ्कनमा भिडियो तयार गरिएको हो ।
काठमाडौँको धार्मिक क्षेत्र साँखु क्षेत्रका प्राकृतिक दृश्य भिडियोमा समावेश छ । युवायुवतीको प्रेम र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गरिएको गीतले समाजमा सकारात्मक सन्देश छरेको छ ।
निर्देशक दिपकराज विश्वकर्मा फिल्मी शैलीमा म्युजिक भिडियो बनाएको बताउनुहुन्छ । यसका शब्द रचना, सङगीत, स्वर र रमणीय क्षेत्रका दृश्यले दर्शकलाई तान्ने प्रयास गरेको छ । छोटो समयमा गीतले एक लाख ५४ हजार भ्युज पाएको छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ