काठमाडौं, ५ फागुन।अजरबैजानका खेलाडी नुर्लान जाहिद नोभ्रुजोभको निर्णायक गोलसँगै सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि दुई खेलअघि नै लगातार दोस्रो पटक जित्न सफल भयो । सातदोबाटोविरुद्धको प्राप्त जितसँगै उसले अंक तालिकामा ११ खेलबाट २९ अंक बनायो । एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लबको २० अंक छ ।
मनाङले अबका तीन नै खेल जितेपछि अंक बराबर हुनेछ । तर, हेड टू हेडमा मनाङलाई १-० ले पराजित गरेको कारण मछिन्द्र बलियो हुनेछ । यसको मतलब लिग मछिन्द्रको हातमा । अब, मछिन्द्रले बाँकी दुई खेलमा थ्री स्टार र एपीएफ फुटबल क्लबसँग खेल्नेछ । दुई खेलमा समेत जित निकाले मछिन्द्र अपराजित रहँदै शीर्ष डिभिजन लिग जित्नेछ ।यसअघि २०६७ सालको लिगमा मछिन्द्रले अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० अन्तरले पराजित गर्दै पहिलो पटक शीर्ष डिभिजन लिग जितेको थियो । १० खेल जितको मछिन्द्र दुई खेल बराबरी गर्दै एक खेलमा हार व्यहोरेको थियो ।
पछिल्लो समय राष्ट्रिय टोलीका अधिकांश खेलाडी जम्मा पारेर नेपाली फुटबलमा एकछत्र राज गर्ने मछिन्द्रले योजना बनाएको थियो । त्यहीअनुसार लगानी गरेको थियो । खर्च गरेअनुसार खेलाडी र प्रशिक्षकले न्याय गर्दै मछिन्द्रलाई लगातार उपाधि दिलाए । यसपटक मछिन्द्रले गत वर्षको भन्दा बढी खर्च पनि गर्याे र खेलाडीसमेत सोहीअनुसार अनुबन्धन गर्याे । गत साल लिग जिताउँदाका एक दुई खेलाडी बाहिरिँदा उसले झनै तीन खेलाडी थप्दै आफ्नो ‘प्लेईङ सेट’ बलियो बनायो ।
गत वर्ष कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ र चार पटकको च्याम्पियन थ्री स्टारबाट ठूला र स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रले आफूलाई घरेलु फुटबलमा नयाँ शक्तिको रुपमा उभ्यायो ।मनाङबाट खेलिरहेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई (बी), गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, सूर्य अधिकारी, विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे थ्री स्टारबाट खेल्दै गरेका बुद्ध चेम्जोङ, रन्जित धिमाल, विजय धिमाल, च्यासलबाट खेलिरहेका देवेन्द्र तामाङ, पुलिसबाट खेलेका रेजिन सुब्बा र कारबाहीबाट भर्खरै फुकुवा भएका बिमल घर्ती मगरलाई अन्तिम खेलमा टोलीमा समावेश गर्दै मछिन्द्रले पहिलो पटक लिग उपाधि जित्यो ।
यसपटक एडेलाजा, पिटर, विराज क्लबबाट बाहिरिँदा छिरिङ गुरुङ, सुनिल बल, मनिष डांगी क्लबमा थपिए । यस्तै विदेशी खेलाडीमा नुर्लान थपिए । यसपटक लिग च्याम्पियन बन्न मछिन्द्रले अग्रपंक्तिमा बलियो बन्दै आठ अट्याकरलाई टोलीमा समावेश गर्याे । अघिल्लो वर्ष अन्तिम खेलमा संघर्षपूर्ण जित निकालेको मछिन्द्रले त्यसबाट ठुलो पाठ सिक्दै फिनिसिङमा आफूलाई सुधार्ने कोसिस गर्याे । फलतः उ सफल पनि भयो ।
मछिन्द्रले पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध प्राप्त २-१ को जितपछि कुनै गोल व्यहोर्नु परेको छैन । १६ गोल गरिसकेको छ । यस अर्थमा गोलरक्षक विशालले १० ‘क्लिन सिट’ राखे ।मछिन्द्र ६२ सालमा पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको थियो । त्यसक्रममा मछिन्द्र २९ वर्ष ‘बी’ डिभजिन लिगमा रह्यो । अघिल्लो साल करोडमाथि खर्च गरेको मछिन्द्रले लगातार दोस्रो पटक विजेता बन्न दुई करोड माथि खर्च गरेको छ ।
‘एघारौँ खेलबाट च्याम्पियन हुने योजना पूरा भयो । खेलाडी, टिम व्यवस्थापक र प्रायोजक सबैको मिहेनतले हामी च्याम्पियन भएका हौं । यो टिम गत सिजनभन्दा बलियो हो । उपाधि जोगाउन २-४ खेलाडी थपेका थियौं । रिजल्ट त्यही अनुसार आयो,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले उपाधिपछि भने ।
उनले लगातार च्याम्पियन हुँदा धेरै खुसी भएको र त्यसका लागि खेलाडीलाई धन्यवाद दिए । ‘गत सिजन मेरो पहिलो ए डिभिजन लिग थियो । (प्रशिक्षक रुपमा) । अहिले लगातार च्याम्पियन हुँदा योभन्दा बढी खुसी हुने ठाउँ छैन । खेलाडीलाई धन्यवाद दिन चाहन्छु । मैदानमा उनीहरूले खेलेका हुन् । उनीहरुले खेलेनन् भने प्रशिक्षक केही होइन,’ शीर्ष डिभिजन लिगको डेब्यु प्रशिक्षक रुपमा मछिन्द्रलाई उपाधि जिताएका ३५ वर्षीय कटुवालले भने ।
यता, कप्तान सुजल श्रेष्ठ टिम भित्र खेलाडीको एकता र मनाङविरुद्धको जितपछि दुई खेलअघि नै लिग उपाधि जित्न सफल भएको बताउँछन् । ‘टिम राम्रो छ । हामी टिमको रुपमा एकजुट छौं । एकजुट भएकै कारण सफल भयौं । यो नै हाम्रो बलियो पक्ष हो । यात्रा संघर्षपूर्ण र अविस्मरणीय रह्यो,’ राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ३० वर्षीय सुजलले भने ।
यसपटक मछिन्द्र लिग जारी रहँदा सातौँ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ मा छनोटसमेत भयो । नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपको प्रारम्भिक छनोट खेल्न लागेको मछिन्द्रले पहिलोपटक हो । यसअघि लिग उपाधि जिते पनि मछिन्द्रसँगै एएफसी क्लब लाइसेन्स नहुँदा त्यसबाट चुकेको थियो ।
यसपटक भने क्लबले गत सिजनभन्दा ठूलो लगानी गर्दै त्यसको प्रतिफल स्वरुप लिग विजेता त भयो नै नेपालको प्रतिनिधित्व गर्दै एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगितासमेत खेल्नेछ । त्यो भनेको उसले आफूलाई अन्तर्राष्ट्रिय खेलकुदको अनुभव बटुल्ने, क्लब नाम चिनाउनेदेखि लिएर ठूलो लगानी भित्र्याउनुसमेत हो ।
जारी लिगमा मछिन्द्रको नतिजा
१–२ न्युरोड टिम एनआरटी
०–० त्रिभुवन आर्मी फुटबल क्लब
०–२ जावलाखेल युथ क्लब
०–३ हिमालयन शेर्पा क्लब
०–० संकटा क्लब
०–१ मनाङ मस्र्याङ्दी क्लब
०–१ नेपाल पुलिस क्लब
०–१ फ्रेन्ड्स क्लब
०–४ ब्रिगेड ब्वाइज क्लब
०–२ च्यासल युथ क्लब
०–१ सातदोबाटो युथ क्लब
बाँकी खेल
थ्री स्टार क्लब
एपीएफ फुटबल क्लब
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ