सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपाल यूएईसँग ४८ रनले पराजित

प्रकाशित समय: शुक्रवार, ०८ : २६ बजे चैत्र ४ गते



नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाडौं, ४ चैत।आइसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।

 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटियो ।युएईविरुद्ध पनि नेपालको ब्याटिङ चलेन । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । यसबाहेक ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

नेपाललाई सस्तोमा समेट्न युएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए ।यस्तै, जुनैद सिद्धिकीले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाको नाममा एक एक विकेट रह्यो ।

 

यसअघि टस जितेर ब्याटिङमा आएको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो ।युएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाएका थिए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाएका थिए ।

 

नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए । यसबाहेक, करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट लिएका थिए ।यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो ।डिभिजन २ मा १० खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

 

यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको युएईले १६ खेलबाट २० अंक जोडेको छ ।