सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गोदावरी साहित्य परिषदले गर्यो साहित्य सम्मेलन, राष्ट्रिय कवि गोष्ठी तथा स्रष्टा सम्मान

प्रकाशित समय: शनिवार, ०७ : १८ बजे असार २३ गते



गोदावरी साहित्य परिषदले गर्यो साहित्य सम्मेलन, राष्ट्रिय कवि गोष्ठी तथा स्रष्टा सम्मान

ललितपुर, २३ असार । गोदावरी नगरपालिकाले “गोदावरी साहित्य परिषद” सञ्चालनका लागि रु. पाँच लाख रकम सहित अक्षयकोष स्थापना गरिएको जनाएको छ ।

 

परिषदद्धारा आज आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीको अवसरमा आयोजित “गोदावरी कला साहित्य सम्मेलन, राष्ट्रिय कवि गोष्ठी तथा स्रष्टा सम्मान” कार्यक्रममा वाङ्म्य शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रिय ऐतिहासिक पहिचानका लागि स्रष्टाहरुको सम्मान तथा पुराना अभिलेखहरुलाई संरक्षण तथा सम्वद्र्धन गरिनुपर्ने बताउनुभयो ।

 

उहाँले राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन सवल रहेका राष्ट्रिय विभूतिको उचित संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय विभूति प्रशिद्ध कलाकार अरनिको अभिलेखले राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको उहाँको भनाई रहेको थियो ।

 

उहाँले गोदावरी एउटा ऐतिहासिक नगरी भएकाले यहाँ रहेका कलाकृति तथा पौराणिक अभिलेखको सुरक्षा र सम्वद्र्धन गरिनुपर्ने उल्लेख गर्नुभयो । यस क्षेत्रको लेलेमा राजा शिवदेव र महापाल अंशुवर्माको पालामा रहेको संयुक्त शिलालेखको संरक्षण गरिनु जरुरी रहेको उहाँले औंल्याउनुभयो ।

 

नगरप्रमुख गजेन्द्र महर्जनले नेपाली साहित्यकार, कलालाकार, कवि एवम् स्रष्टाहरुको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

 

गोदावरी क्षेत्रको मात्र नभएर देशभरिनै रहनुभएका स्रष्टा सम्मानका लागि अक्षयकोषको स्थापना गरिएको उहाँको भनाई रहेको थियो । स्रष्टाको संरक्षणबाटै देशको भाषा, संस्कृति, भेषभुषा तथा रीतिरिवाजको जगेर्ना तथा सुरक्षा हुन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

परिषदका संरक्षक समेत रहनुभएका नगरप्रमुख महर्जनका अनुसार ऐतिहासिक गोदावरी नगरी विकास र सम्वद्र्धनका लागि धार्मिक एवम् पुरात्वतिक अभिलेखको संरक्षण नै प्रमुख रहेको छ ।

 

नेपाली साहित्यमा उल्लेखनीय योगदान पु¥याउनु हुने गोदावरी नगरपालिका–१० का स्व.ऋषिराम न्यौपानेका धर्मपत्नी जानकी न्यौपाने र कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने गोदावरी नगरपालिका–११ का राजेन्द्र देशारलाई परिषदले सम्मान गरिएको परिषदका अध्यक्ष वशिष्ठ अधिकारीले बताउनुभयो ।

 

सम्मानित दुवै जनालाई प्रमाणपत्र सहित एघार हजार एकसय ११ का दरले सम्मान गरिएको उहाँले बताउनुभयो । परिषदद्धारा आयोजित संस्कृति, सम्पदा र स्थानीय सरकार विषयको निवन्ध प्रतियोगितामा प्रथम हुने रीता सञ्जेल, द्धितीय रीता केसी र तृतीया हुन सफल सुरेश थापालाई प्रमाणपत्र सहित क्रमशः नगद रु. दस हजार, सात हजार र पाँच हजारका दरले सम्मान गरेको छ ।

 

यसै गरी प्रोत्साहन सहित डिकेश महर्जन र रुपा तिमल्सिनालाई नगद रु. एक/एक हजारका दरले सम्मान गरिएको जनाएको छ ।

 

सम्मेलनमा राष्ट्रिय तथा स्थानीय सर्जक गरी ८० जनाको सहभागी रहेको परिषदका अध्यक्ष अधिकारीले बताउनुभयो ।