दुर्गा आचार्य,मेलम्ची (सिन्धुपाल्चोक)जिल्लामा भूकम्पपीडितको आवास पुर्ननिर्माणमा प्रयोग हुने अत्यावश्यक निर्माण सामाग्रीको विक्रीमा स्थानीय व्यवसायीले ४१ प्रतिशतसम्म नाफा लिने गरेको खुलासा भएको छ । यस्ता सामग्रीको खरीद र व्यवसायीले दिने विक्री मूल्य उल्लेखित विल अध्ययन पछि यो खुलासा भएको हो ।
निर्माण सामग्रीको अधिकतम विक्री मूल्य कुनै पनि निकायले नतोक्ने गरेका कारण व्यवसायीहरु आफूखुसी मनपरी मूल्य तोकेर उपभोक्तासँग चर्को मूल्य असूल गरिरहेका छन् । यस्तोमा वजारमा जहाँ यस्ता सामग्रीको मूल्यमा एकरुपता छैन भने केही व्यापारी यसै अवस्थाको लाभ उठाउँदै उपभोक्तालाई ठगी गरिरहेका छन् । तर सम्बन्धित निकाय भने यसतर्फ मौन छ ।
मेलम्चीको एक हार्डवयर पसलमा फलामे पाइप (ट्रष्ट पाइप) को विक्रीमा प्रतिकिलो ४१ प्रतिशतसम्म नाफा लिने गरेको स्वयं सम्बन्धित व्यवसायीले नै स्वीकारेका गरेका छन् । पुर्ननिर्माणका बेला निर्माण सामाग्रीको कृत्रिम अभाव सिर्जना गर्ने र महंगोमा बेच्ने गरेको गुनासो बढेसँगै स्थानीय बजारमा बढी मूल्य लिएर चर्को नाफा लिई सामान बिक्री गर्ने गरेको पाइएको हो ।
मेलम्चीस्थित सन्तोषी हार्डवयरमा घरको छाना छाउन प्रयोग हुने ट्रष्ट पाइप (एमएस पाइप) मा एक किलोमा नै ३८ रुपैया नाफा गर्ने गरेको सञ्चालक सुवास बानियाँले बताए । सो सामान हार्डवयरले खरिद गरेको बिलमा ९२ रुपैया प्रतिकिलो उल्लेख छ भने सन्तोषी हार्डवयेरले बिक्री गरेको बिलमा एक सय ३० रुपैया प्रतिकिलो बेचेको देखिएको छ ।
‘एक पिस पाइप नौ–१० किलोको हुन्छ, एक किलोमा नै ३८ रुपैया नाफा लिंदा रहेछन्’, पसलमा बिल हेर्दै गर्दा भेटिएका एक उपभोक्ताले भने, ‘खरिद अनुसार निश्चित नाफा लिएर बिक्री गर्नुपर्नेमा यत्रो धेरै नाफा हुँदो रहेछ ।’ हार्डवयर सञ्चालक बानियाँले ढुवानी र लोड अनलोड खर्चले गर्दा मूल्य बढि देखिएको दाबी गरे । ‘ढुवानी भाडा, लोड अनलोड खर्च खरिद बिल भन्दा थप लाग्छ’, बानियाँले भने, ‘हाम्रो खर्च कटाउँदा तपाईहरुले सोचे जस्तो नाफा हुँदैन ।’ प्रतिकिलोमा लिएको नाफा हेर्दा नौ किलोको एक पाइपमा नै कम्तिमा तीन सय ४२ रुपैया नाफा गरेको देखिन्छ ।
मेलम्ची लगायत जिल्लाको विभिन्न बजारमा सामान आपूर्ति गर्दै आएको काभ्रेको बनेपास्थित चण्डेश्वरी हार्डवयरका अनुसार सामाग्री खरिद गरिसकेपछि लोड अनलोड र ढुवानीको दायित्व सम्बन्धित व्यवसायी स्वयंकै हुन्छ । लोड अनलोडको ढुवानीको मूल्य स्थानीय व्यवसायीले तिर्दा पनि स्थानीय बजारमा खरिद मूल्यभन्दा बढीमा १०–१५ प्रतिशत मात्र मूल्य बढाउनुपर्ने मुख्य आपूर्तिकर्ताको भनाई छ ।
निर्माण सामाग्रीमा अत्यधिक नाफा लिने गरेको अनुगमनका बेलापनि देखिएकाले मूल्य नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीयअधिकृत भिमबहादुर बस्नेतले बताए । ‘हामी अनुगमनमा जाँदापनि ट्रष्ट पाइपको खरिद मूल्य र बिक्री मूल्यबीच अन्तर धेरै देखिएको थियो ।’ बस्नेतले भने, ‘सम्बन्धित व्यवसायीलाई मूल्य घटाउन निर्देशन दिइएको छ, घटाएन भने कारबाही हुन्छ ।’ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले संघले खाद्यान्नलाई बढी प्राथमिकता दिएर मूल्यसूची निर्धारण गर्ने गरेको तर औषधी, हार्डवेयर र कपडाको मूल्य सूची नभएको बताए ।
उद्योग वाणिज्य संघको अहिलेसम्मको कार्यकालमा खाद्यान्न बाहेक अन्यको कुनै मूल्यसूची नतोकिएको श्रेष्ठले जानकारी दिए । ‘पुर्ननिर्माणको यो समयमा निर्माण सामाग्रीको मूल्यमा एकरुपता कायम गर्नु आवश्यक छ । श्रेष्ठले भने, प्रतिस्पर्धाको जमानामा जहाँ सस्तो छ त्यही किन्ने भएकाले उपभोक्ता ठगिने सम्भावना छैन् ।’ कम्पनीले नै सामाग्रीमा मूल्य अंकित‘ लेबल राख्नुपर्नेमा अधिकाशं निर्माण सामाग्रीमा त्यसको मूल्य नराखिदाँ उपभोक्ता ठगिएका हून् ।
फलामे पाइप मात्र होइन एउटै कम्पनीको जस्ता पातामा पनि व्यवसायीले ठूलो अन्तरमा नाफा लिने गरेको पाइएको छ । आरती कम्पनीको ३२ एमएमको जस्ता पाता जयवागेश्वरी हार्डवयरले नौ हजार प्रतिबण्डल बिक्री गरेको र त्यही जस्तापाता श्रीदेवी हार्डवयरमा सातहजार आठ सयमा बिक्री गरेको पाइएको ट्रान्सपरेन्सी इन्टरनेशनलका जिल्ला संयोजक उमेश बिकले बताए । बिकका अनुसार जयवागेश्वरी ले आठ हजार पाँच सय र श्रीदेवीले सातहजार दुई सय खरिद मूल्य देखाएका थिए ।
श्रीदेवी हार्डवयरले युनाइटेड कम्पनीको पिपिसी सिमेन्टमा प्रतिबोरा दुई सय २० रुपैया नाफा गरेको देखिएको बिकले बताए । छ सय ९० खरिद मूल्य रहेको उक्त सिमेन्ट नौ सय १० मा बिक्री गरेको पाइएको थियो । मेलम्ची बजारका हार्डवयर पसलमा सामान्यतया सिमेन्ट प्रतिबोरा ३३ देखि ८० रुपैयाँसम्म नाफा लिएर बेच्ने गरेको पाइएको छ ।
आर्थिक वर्षको अन्तिम भएकाले राजश्व तिर्न खरिद बिल र बिक्री बिल राजधानी पठाएको भन्दै अधिकांश हार्डवयर पसलेले बिल देखाउन मानेनन् । उनीहरुले मौखिक रुपमा दिएको जानकारीका आधारमा पनि निर्माण सामाग्रीमा व्यवसायीले अत्यधिक नाफा लिएर उपभोक्तलाई ठगि गरेको देखिएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष सुवास गौतम बताउँछन् ।
बजारमा मूल्य नियन्त्रण गर्ने जिम्मेवार निकाय स्थानीय प्रशासन रहेको भन्दै अधयक्ष गौतमले ठगी गर्नेमाथि कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको र उसले कारवाही नगरे आफ्नो संस्था अदालत जान तयार रहेको गौतमले बताए । घर बनाउन प्रयोग हुने रडमा पनि पसल पिच्छे फरक मूल्य देखिएको छ । प्राय पसलमा छडमा भने प्रतिकिलो एक दुई रुपैयाको मूल्य अन्तर देखिएको छ । छड प्रतिकिलो ९१ म खरिद गरेर ९८ रुपैयासम्म बिक्रि गरेको देखिएको छ ।
स्थानीय सरकारले सरकारी प्रयोजनको लागि प्राविधिक रुपमा मूल्य निर्धारण गरेपनि सर्वसाधारणको हकमा भने सो नियम लागू भएको पाइदैंन ।यसर्थ पनि जिल्लामा व्यवसायीहरुले मनोमानी रुपले मूल्य निर्धारण गर्ने गरेको पाइन्छ । स्थानीय प्रशासनले उपभोक्ताहरु ठगिन परेको जानकारी पाएपछि स्पष्टीकरण सोध्ने र अनुगमन गर्ने काम गरेर कारवाही प्रक्रिया अगाडि बढाइसकेको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । बस्नेतका अनूसार स्पष्टीकरण प्राप्त भएपछि ठगी गरेको प्रमाणित भएमा कारवाही चलाइनेछ ।
अहिले तत्कालका लागि खरिद र बिक्री बीचको मूल्यको सन्तुलन राख्न, मूल्य एकरुपता कायम गर्न र सञ्चालित व्यवसायलाई स्थानीय निकायमा दर्ता गरी सञ्चालन गर्न निर्देशन दिदैं जिल्ला प्रशासन कार्यालयले साझा हार्डवयर, मेलम्ची हार्डवयर, कृष्ण हार्डवयर एण्ड सप्लायर्स, जयबागेश्वरी हार्डवयर एण्ड सप्लायर्स, सन्तोषी हार्डवेयर, श्रीदेवी ट्रेड एण्ड सप्लायर्स, एपी हार्यवयर, इन्द्रावती क्रसर उद्योग, मेलम्ची फड्केश्वर, इन्द्रावती स्टोन प्रा.लि र मेलम्ची एकोन क्रसर एग्रिगेट प्रा.लि लाई पत्र काटिसकेको बस्नेतले जानकारी दिए ।
उपभोक्ता संरक्षण ऐन २०५४ मा मूल्यमा प्रतिकूल प्रभाव पारेमा तीनबर्ष कैद र ५० हजारसम्म जरीवाना वा दुवै सजाय, मूल्यसूची सबैले देख्ने ठाउँमा नराखेमा दुईवर्षसम्म कैद वा एकलाख जरीवाना हुने व्यवस्था छ । त्यस्तै कालोबजारी ऐन २००८ मा पनि बाटो खर्च, भाडाभरौट इत्यादि सबै कुराको विचार गरी तोकिदिएको दररेटमा बिक्री नगरी बढी रेटमा बिक्री गर्ने व्यवसायीलाई दुई हजार सम्म जरीवाना वा १५ दिन देखि छ महिनासम्म कैद र व्यवसायीको लाइसेन्स समेत जफत हुने उल्लेख छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ