कास्की, १७ वैशाख।गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ ।
आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनोटको तयारी सुरु गर्न जिल्ला खेलकुदलाई सूचना पठाइएको बताउनुभयो । उहाँका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि प्रदेशको टोली तयार गरिनेछ ।
जिल्लाबाट छनोट भएर खेलाडीको नामावली आइसकेपछि प्रदेशस्तरीय छनोट खेल सञ्चालन हुने र छनोट भएकाका लागि बन्द प्रशिक्षण सुरु गरिने परिषद्ले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशका ११ वटै जिल्लाका खेलकुद समितिलाई खेलाडी छनोट गर्न सूचना गरिसकेका छौँ, जिल्ला हुँदै प्रदेश छनोट भएर आयोजक प्रदेशको टोली तयार पारिनेछ ।”
राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको गौरवको कार्यक्रम र खेलाडीको लागि महाकुम्भ रहेकाले यसलाई भव्यरुपमा सम्पन्न गर्न छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको गुरुङले बताउनुभयो । नवौँ राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ । यसपटक केही प्रदर्शनीका रुपमा खेल समावेश गरिने भएको छ ।
अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएपछि सरकारले जेठ अन्तिम साता गर्ने गरी तयारी अघि बढाएको हो । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रस्ताव पठाइएको र राखेको प्राविधिक समितिले अनुगमन गरिसकेकाले पूर्वाधारको अवस्थालाई मध्यनजर गरी केही दिनमै खेलस्थल टुङ्गो लाग्ने समितिका कार्यालयका प्रमुख लक्ष्मण योगीले बताउनुभयो । राष्ट्रिय खेलकुदमा समावेश हुने ३६ खेलमध्ये स्वीमिङ र सुटिङको पूर्वाधार गण्डकी प्रदेशमा नभएकाले अन्यत्र लैजानुपर्ने हुनसक्ने राखेपले जनाएको छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ