सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

किन हिट भईरहेको छ थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ ?

प्रकाशित समय: आइतवार, ०१ : १९ बजे बैशाख २५ गते



किन हिट भईरहेको छ थानेश्वरको गजल गीत ‘बेचेर सपना मैले’ ?

काठमाडौं।नेपाली गजल गायनको दुनियामा फरक शैलीमा प्रस्तुत हुने गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ यतिबेला चर्चाको शिखरमा छ । भिडियो शेयरिंग प्लाटफर्म यूट्युब र टिकटकमा धेरै सुनिने र देखिने गीतमा केहि दिनयता ‘बेचेर सपना’ पर्दछ । यो गीत यूट्युब ट्रेन्डिंगमा समेत अग्र पंक्तिमा रहेको छ ।

 

पछिल्लो समय नेपाली गीत संगीतले अलग्गै बाटो समाएको समयमा गायक गौतमले ‘बेचेर सपना’ गजल चल्नु आफैमा असामान्य महशुस गरेका छन् । ‘गीत सबैले गाउँछन् तर जुन गीतले शरीरमा तरंग ल्याउछ अनि एउटा युगको भाषा बोल्छ त्यो नै सहि संगीत हो । अहिलेको समयमा यो गजल चल्नु अस्वभाविक लागेको छ, तर संगीतको कुनै धार हुँदैन र दिलछुने भयो भने जहिले पनि चल्न सक्छ भन्ने उदाहरण बनेको छ’, गायक गौतमले बताए ।

 

खासगरी यस गजलमा प्रयोग भएका बिम्बहरुले श्रोताको दिल छोएको छ । धेरै मानिसको जीवनमा कहिं न कहिं मेल खाने शब्द तथा तरंगीत तुल्याउने स्वर र संगीतको कारण यो गीत धेरैको रोजाईमा परेको छ ।यसअघि थानेश्वरका ‘गाजल लगाईनछ्यौ’, ‘छुटनलाई पो रै’छ क्यारे’, ‘फुर्के धागो’, ‘खान्न भाउजू मस्यौरा’, ‘तिम्रा यादहरु’ जस्ता गजल गीतहरु लगातार चर्चित बनेका थिए । विश्वविद्यालयबाट संगीत विषयमा स्नातकोत्तर गरेका गौतमले सबैखाले गीतहरु जस्तै: शास्त्रीय, गजल, लोक, सालैजो, रोइला, भजन तथा चलचित्रका गीतहरु गाईसकेका छन् । यिनै गीतहरुका साथ नेपालीहरुको बसोबास रहने धेरै देशहरुमा उनले सांगीतिक कार्यक्रमहरु समेत गरेका छन् ।