युवराज पुरी,तातोपानी (सिन्धुपाल्चोक)तीन वर्ष अघिसम्म विहान देखि राती अबेरसम्म व्यस्त रहने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल चीन सिमा छेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याई हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान कोही ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।
चिया पसल हुँदै १० वर्षदेखि तातोपानी गेष्ट हाउस सञ्चालन गर्दै आएकी शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे हम्मे परेको बताउँछिन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरेको व्यापारले लोभिएर आफ्नै घर बनाएर सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेपछि पछिल्लो तीन वर्षदेखि बन्दै जस्तो भएको छ । २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उनलाई तातोपानीको घर नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छाबाबुको अनुहार भने जस्तै भएको छ ।
नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरु तातोपानी छाडेर हिंडे, शेर्पा जस्तै अन्यत्र बसोबासको व्यवस्था नभएका थोरै मात्र तातोपानीमा छन् । ‘नाका चल्यो भने गरि खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ’, शेर्पाले भनिन्, ‘हाम्रै ठाउँमा मात्र यस्ता् बिपद आइलाग्यो ।’ सिमाको करिब पाँच सय मिटर तल कोदारीमा नाका खुल्ने आशामा चार परिवार बसिरहेका छन् ।
‘अन्यत्र जाने ठाउँ छैन, यहाँ बस्न पनि त्रास बाहेक केही छैन’, कोदारीमा भेटिएका पूर्णबहादुर श्रेष्ठले भने, ‘हाम्रो ठाउ त अब कर्णाली भन्दा पनि बिकट हुन थाल्यो ।’ २०७३ साल साउनमा आएको भोटेकोशी बाढीले सिमाको लिपिङ बजार ध्वस्त बनाएपनि कोदारीका केही घर बचेका छन् । सडक बाढीले कटान गरेपछि पुन सडक निर्माा नहुँदा सिमा क्षेत्रका बासिन्दा आफूलाई कर्णालीबासीका रुपमा चिनाउँछन् ।
‘सडक नहुँदा खाद्यान्न ल्याउन र बिरामी पर्दा उपचार गराउन पनि समस्या छ’, श्रेष्ठ भन्छन्, ‘कम्तिमा सडक मात्रै भएपनि केही सहज हुन्थ्यो नि ।’ तातोपानीदेखि लिपिङसम्मको चार किलोमिटर खण्ड ठाउँठाउँमा कटान भएको छ । तल भोटेकोशी नदिले काट्ने र माथिबाट पहिरो आउने गर्दा पैदल हिंड्नपनि कठिन छ । सडक बन्ला अनि नाका खुल्ला र सामान्य भएपनि व्यवसाय गर्न पाइएला भन्ने आशामा गाउँ नछाडेका पासाङठिलेन शेर्पालाई अब सँधैका लागि नाका नखुल्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ ।
‘ठूला व्यवसायी जताबाट नाका चल्छ उतैबाट व्यापार गर्छन्’, पासाङठिलेन भन्छन्, ‘हामी झोलामा सामान ल्याएर स्थानीय बजारमा बेचेर जिविकोपार्जन गर्नेका लागि ठूलो समस्या भयो ।’ चुनावताका आफूले जिते तत्काल नाका सञ्चालनमा ल्याउँछौं भनेर भोट माग्ने नेताहरुसँग उनी आक्रोशित छन् । ‘नाका खोल्नु त कता हो कता सडक नै नबनाएर हामीलाई कर्णाली भन्दा बिकटकोे बासिन्दा बनाइदिए’, उनले आक्रोस पोखे, ‘यस्तै चाला हो भने अब नेताहरु हामी कहाँ फेरी भोट माग्न नआए हुन्छ ।
’ नाका खोल्ने पहलसँगै सडक छिटो निर्माण गर्न सरकारका सम्बन्धीत सबै मन्त्रालयमा पुगिसकेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । सडक नहुँदा खाद्यान्न ढुवानी, बिरामीको उपचार लगायत समस्या आएकाले तत्काल समाधानको उपाय निकाल्न उनले सरकारसँग आग्रह गरे ।
बाह्रबिसे तातोपानी खण्डको मर्मत र तातोपानी लिपिङ खण्ड पुर्ननिर्माण गर्नुपर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । २०७२ को भूकम्पले क्षति पु¥याएको सिमा क्षेत्रमा २०७३ साउनमा भोटेकोशी बाढीले तहस नहस बनाएको थियो । अघिल्लो वर्ष राजमार्गको लार्चास्थित भोटेकोशी नदि माथिको पुल बगाएको थियो । लार्चा पुल भने बेली ब्रिज हालेर सञ्चालनमा आइसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ