सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

यु २० साफ: बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

प्रकाशित समय: शनिवार, ०९ : १४ बजे श्रावण १४ गते



यु २० साफ: बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

काठमाडौं, १४ साउन।यु २० साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

 

लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगालादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंकविहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ ।

 

यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रींलकालाई ४–० ले पराजित गरेको थियो ।भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० ले र दोस्रो खेलमा नेपालसँग ३–० ले पराजित भएको थियो ।

 

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई, हिमान्सु जान्ग्रा र गुरकिरत सिंहले समान एक गोल गरे । जितसँगै दुई खेलबाट तीन अंक जोडेको भारत तेस्रो स्थानमा छ । यसअघि भारत पहिलो खेलमा बंगलादेशसँग २-१ अन्तरले पराजित भएको थियो ।